बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री शाह बिदुरतर्फ

User Image Prime TV News २ हप्ता अगाडि
Image of बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री शाह बिदुरतर्फ

काठमाडौ । प्रधानमन्त्री वालेन्द्र शाह बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण तथा राहत–उद्धारको अवस्थाबारे जानकारी लिन बिहीबार बिहान नुवाकोटको बिदुरतर्फ प्रस्थान गरेका छन्।

प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनील लम्साल पनि निरीक्षण टोलीमा सहभागी छन्। उनीहरू सडकमार्ग हुँदै नुवाकोटका बाढी प्रभावित मुख्य क्षेत्रमध्ये बिदुर र आसपासका बस्तीको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन त्यसतर्फ गएका हुन्।

बुधबार रसुवाको भोटेकोसी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रमा क्षति पुर्‍याएपछि प्रधानमन्त्री शाह उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सक्रिय हुँदै आएका छन्। बाढीपछि उनले उच्चस्तरीय बैठक आह्वान गरी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा आवश्यक व्यवस्थापनलाई तीव्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।

बाढीबाट विभिन्न स्थानमा जनधन तथा भौतिक संरचनामा क्षति पुगेको छ। समयको सीमाका कारण प्रधानमन्त्री शाहले आज मुख्य रूपमा नुवाकोटको बिदुर तथा आसपासका प्रभावित बस्तीको निरीक्षण गर्ने कार्यक्रम रहेको बताइएको छ।

स्थलगत निरीक्षणका क्रममा प्रधानमन्त्री शाहले प्रभावित स्थानीयसँग भेटघाट गरी क्षतिको अवस्था, उद्धार तथा राहत वितरणबारे जानकारी लिने र तत्काल आवश्यक कदम चाल्न सम्बन्धित निकायलाई निर्देशन दिने अपेक्षा गरिएको छ।