रसुवा विपद्को प्रारम्भिक कारण भूकम्पपछिको हिमपहिरो हुन सक्ने चिनियाँ राजदूतको भनाइ
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले रसुवाको केरुङ–रसुवागढी सीमा क्षेत्रमा भएको भीषण बाढी तथा पहिरोको प्रारम्भिक कारण नेपालतर्फ गएको भूकम्पपछि आएको हिमपहिरो हुन सक्ने बताएका छन्।
नेपाल टेलिभिजनको ‘एनटिभी वर्ल्ड’सँगको अन्तर्वार्तामा राजदूत चाङले विपद्को दिन बिहान नेपालतर्फ भूकम्प गएको र त्यसपछि हिमपहिरो तथा लेदोसहितको बाढी आएको प्रारम्भिक जानकारी प्राप्त भएको बताएका हुन्।
यद्यपि, विपद्को वास्तविक कारणबारे नेपाल र चीन दुवैतर्फबाट विस्तृत अध्ययन जारी रहेकाले भूकम्प र बाढीबीचको प्रत्यक्ष कारण–सम्बन्ध अझै पूर्ण रूपमा पुष्टि भइसकेको छैन। नेपाल सरकारका अधिकारीहरूले पनि बाढीको स्रोत र कारणबारे थप वैज्ञानिक प्रमाण आवश्यक रहेको बताएका छन्।
बाढीले नेपालतर्फ रसुवाको टिमुरे, रसुवागढी लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ। चीनतर्फ तिब्बतको ग्यिरोङ क्षेत्र पनि प्रभावित भएको छ। सडक, पुल, सञ्चार तथा अन्य भौतिक संरचनामा व्यापक क्षति पुगेपछि उद्धार तथा राहत कार्य चुनौतीपूर्ण बनेको छ। पछिल्लो विवरणअनुसार नेपाल र चीन दुवैतर्फ ठूलो संख्यामा मानिसहरू बेपत्ता छन्।
राजदूत चाङका अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङले विपद्पछि खोज तथा उद्धारलाई उच्च प्राथमिकता दिन निर्देशन दिएका छन्। जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने, बेपत्ताको खोजी गर्ने तथा घाइतेको तत्काल उपचार गर्ने कामलाई तीव्रता दिन निर्देशन दिइएको उनले बताएका छन्।
विपद् लगत्तै काठमाडौंस्थित चिनियाँ दूतावासले आपत्कालीन संयन्त्र सक्रिय गर्दै प्रभावित क्षेत्रमा समन्वयका लागि कार्यदल पठाएको जनाएको छ। चीनले नेपाललाई आवश्यक आपत्कालीन राहत सामग्री तथा अन्य सहयोग उपलब्ध गराउने प्रक्रिया अघि बढाएको पनि राजदूत चाङले बताएका छन्।
चीनतर्फ पनि उद्धार तथा राहत अभियान तीव्र पारिएको छ। चिनियाँ अधिकारीहरूले प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गर्नुका साथै सीमावर्ती क्षेत्रमा क्षतिको मूल्याङ्कन र खोजी कार्य अघि बढाइरहेका छन्।
राजदूत चाङले भविष्यमा यस्ता विपद्को प्रभाव कम गर्न नेपाल र चीनबीच सीमापार विपद् व्यवस्थापनमा थप सहकार्य आवश्यक रहेको बताएका छन्। उनले विशेषगरी पूर्वसूचना तथा सूचना आदानप्रदान, आपत्कालीन उद्धारमा समन्वय र विपद् व्यवस्थापन क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
मौसम विज्ञान, जलविज्ञान तथा भौगर्भिक जोखिमको संयुक्त अनुगमन, सीमापार विपद्को तत्काल सूचना आदानप्रदान तथा उद्धार संयन्त्रलाई थप प्रभावकारी बनाउन सके भविष्यमा मानवीय क्षति कम गर्न सकिने उनको भनाइ छ।
यसका साथै विपद् व्यवस्थापनमा संलग्न कर्मचारीको तालिम, प्राविधिक ज्ञान आदानप्रदान र आपत्कालीन सामग्रीको उपलब्धता बढाउनुपर्नेमा पनि उनले जोड दिएका छन्। राजदूत चाङले विपद्को यस कठिन घडीमा नेपाल सरकार र नेपाली जनताले देखाएको धैर्य तथा उद्धार प्रयासको प्रशंसा गर्दै चीनले नेपाललाई आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसैबीच, पछिल्ला वैज्ञानिक मूल्याङ्कनहरूले भने हिमनदी तथा चट्टानको ठूलो हिस्सा खस्दा नदी थुनिएर वा एक्कासि खुलेर आएको विनाशकारी बहावलाई बाढीको प्रमुख सम्भावित कारणका रूपमा औँल्याएका छन्। घटनाको ठ्याक्कै ट्रिगरबारे थप अनुसन्धान भइरहेको छ।







