प्रचण्डको आग्रह : विपत्तिमा राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवा लगायतका क्षेत्रमा देखिएको प्राकृतिक विपत्तिको सामना गर्न सबै राजनीतिक शक्ति एकजुट हुनुपर्ने बताएका छन्।
सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा बोल्दै प्रचण्डले अहिले राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर खोजी, उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित हुनुपर्ने बताए। ‘राष्ट्रिय संकटको सामना गर्न एकजुट बनौँ,’ उनले भने, ‘अहिले देश एउटा गम्भीर प्राकृतिक विपत्तिको सामना गरिरहेको छ। यस्तो अवस्थामा लामो बहस वा राजनीतिक आग्रह–पूर्वाग्रहमा अल्झिने होइन, सबै राजनीतिक शक्ति एक ठाउँमा उभिएर खोजी, उद्धार र राहतमा जुट्ने समय हो।’
प्रचण्डले रसुवाको विनाशकारी बाढीलाई सामान्य प्राकृतिक विपत्तिका रूपमा मात्र लिन नहुने बताए। नेपालको भौगोलिक अवस्थाका कारण बाढी, पहिरो र भूकम्पजस्ता विपत्ति नियमित रूपमा सामना गर्दै आए पनि पछिल्ला घटनाको प्रकृति, तीव्रता र प्रभावले नयाँ जोखिमतर्फ संकेत गरेको उनको भनाइ छ।
उनले यस्ता घटनालाई जलवायु परिवर्तन, हिमाली क्षेत्रमा बढ्दो जोखिम र बदलिँदो प्राकृतिक अवस्थासँग जोडेर वैज्ञानिक तथा प्राविधिक अध्ययन गर्नुपर्नेमा जोड दिए। तत्काल खोजी, उद्धार र राहतसँगै दीर्घकालीन जोखिम न्यूनीकरणका लागि राष्ट्रिय रणनीति आवश्यक रहेको उनले बताए।
‘अहिले पहिलो दायित्व भनेको मानिसको जीवन बचाउनु हो,’ प्रचण्डले भने, ‘खोज, उद्धार, उपचार, राहत र पुनःस्थापनाका लागि सरकार, राजनीतिक दल तथा सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वयका साथ साझा कार्ययोजना बनाएर अघि बढ्नुपर्छ।’
उनले छिमेकी मुलुकसँग तत्काल समन्वय गरी उपलब्ध सूचना तथा पूर्वसूचना संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने बताए। विशेषगरी हिमाली क्षेत्रमा प्राकृतिक विपत्तिको जोखिम र पूर्वसूचना प्रणालीलाई दीर्घकालीन रूपमा बलियो बनाउन नेपालले छिमेकी मुलुक तथा अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्नुपर्ने उनको भनाइ छ।
प्रचण्डले रसुवाको विपत्तिलाई नेपालभित्रको मात्र समस्या नभई हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढिरहेको जोखिमका रूपमा अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्नुपर्ने बताए। जलवायु परिवर्तनको असर भोगिरहेका हिमाली मुलुकका लागि जलवायु न्याय, क्षतिपूर्ति र अन्तर्राष्ट्रिय सहयोगको विषयलाई सशक्त रूपमा उठाउनुपर्ने उनको आग्रह छ।
विपत्तिका बेला राजनीतिक मतभेदलाई केही समय थाती राखेर राष्ट्रिय एकताका साथ अघि बढ्नुपर्ने उल्लेख गर्दै उनले कोशी बाढी, सिन्धुपाल्चोकको जुरे पहिरो, २०७२ सालको भूकम्प र जाजरकोट भूकम्पका बेला नेपाली समाज तथा राजनीतिक शक्तिहरू एकताबद्ध भएर संकटको सामना गरेको स्मरण गरे।
‘आज पनि देशमा राजनीतिक मतभेद र विमति छन्। लोकतन्त्रमा ती स्वाभाविक हुन्,’ उनले भने, ‘तर विपत्तिका बेला ती मतभेदलाई केही समय थाती राखेर राष्ट्र र नागरिकको पक्षमा एक ठाउँमा उभिनुपर्छ।’
रसुवाको भोटेकोशी बाढीले सिर्जना गरेको संकटबाट पार पाउन सरकारलाई आफ्नो पार्टीको पूर्ण साथ र सहयोग रहने उनले बताए। पार्टीले यस विषयमा आवश्यक निर्णय गरिसकेको र उद्धार, राहत तथा सहयोगका काममा सरकारी निकायसँग समन्वय गरी पार्टी पंक्तिलाई परिचालन गर्न निर्देशन दिइसकेको उनले जानकारी दिए।
सर्वदलीय बैठकमा प्रचण्डले सबै राजनीतिक दल तथा राज्य संयन्त्रले तत्काल साझा संकल्पका साथ काम गर्नुपर्नेमा जोड दिँदै भने, ‘विपत्तिमा कोही एक्लो नहोस्, उद्धार र राहतमा कुनै ढिलाइ नहोस् र राज्यको पहुँचबाट कुनै नागरिक बाहिर नपरोस्।’







