विपद् सामना गर्न राजनीतिक दलहरू एकजुट, पुनर्निर्माणका लागि संसदीय संयन्त्र बनाउने प्रस्ताव
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । पछिल्लो प्राकृतिक विपत्तिबाट उत्पन्न संकटको सामना गर्न संसद्मा रहेका तथा बाहिर रहेका राजनीतिक दलहरूले साझा रूपमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार आयोजना गरेको सर्वदलीय बैठकमा सहभागी दलहरूले तत्काल खोज, उद्धार तथा राहत कार्यमा सरकारलाई पूर्ण सहयोग गर्ने सहमति गरेका हुन्। बैठकले विपद्पछिको दीर्घकालीन पुनर्निर्माणलाई प्रभावकारी बनाउन संसद्मार्फत विशेष समिति वा संयन्त्र गठन गर्नुपर्ने प्रस्तावसमेत अघि सारेको छ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्तिका बेला राजनीतिक दलहरू एक ठाउँमा उभिने परम्परालाई निरन्तरता दिँदै वर्तमान संकट समाधानमा केन्द्रित हुने बताए। उनका अनुसार सरकारले गरिरहेको खोज, उद्धार र राहतका प्रारम्भिक प्रयासबारे बैठकमा जानकारी गराइएको थियो। विभिन्न राजनीतिक दलले प्राप्त गरेका सूचनासमेत सरकारलाई उपलब्ध गराएका थिए।
थापाले अहिलेको प्राथमिकता खोज, उद्धार र तत्काल राहत भएको उल्लेख गर्दै विपत्तिबाट भएको क्षतिको पुनर्निर्माण लामो समयसम्म चल्ने बताए। ठूलो आर्थिक क्षति हुने अवस्था देखिएकाले सरकारको कामलाई निरन्तर अनुगमन गर्न, आवश्यक सुझाव दिन तथा राजनीतिक दलहरूलाई संयुक्त रूपमा परिचालन गर्न संसदीय संयन्त्र आवश्यक रहेको उनको भनाइ छ।
प्रस्तावित संयन्त्रमा संसद्मा प्रतिनिधित्व नभएका राजनीतिक दलहरूलाई समेत समेटिने बताइएको छ। यसबाट राहत वितरणदेखि पुनर्निर्माणसम्मका काममा समन्वय र निगरानी प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
विगतका प्राकृतिक विपत्तिपछि प्रारम्भिक राहत सकिएसँगै पीडितका समस्या ओझेलमा पर्ने गरेको स्मरण गर्दै थापाले यसपटक त्यस्तो अवस्था आउन नदिन सबै पक्ष गम्भीर बन्नुपर्ने बताए। विपत्तिपछिको पुनर्निर्माणलाई दीर्घकालीन प्राथमिकताका रूपमा अघि बढाउनुपर्नेमा उनले जोड दिए।







