विपद् उद्धार र पुनर्निर्माणमा स्रोतको अभाव हुन नदिने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्निर्माणका लागि सरकारले स्रोत र साधनको अभाव हुन नदिने प्रतिबद्धता जनाएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्को सामना गर्न सरकार आवश्यक स्रोत जुटाउन सक्रिय रहेको बताएका हुन्। बिहीबार सिंहदरबारमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भएको बैठकपछि अर्थमन्त्री वाग्लेले बाढी, पहिरो र डुबानमा परी बेपत्ता तथा अलपत्र परेका नेपाली नागरिक र विदेशी पर्यटकको उद्धारलाई तीव्र बनाइएको जानकारी दिए।
भौगोलिक तथा मौसमी प्रतिकूलताका बाबजुद २२ वटा हेलिकोप्टरमार्फत उद्धार अभियान सञ्चालन भइरहेको उनले बताए। विपद्पछिको पुनर्स्थापना र पुनर्निर्माणका लागि सरकारले अन्तर्राष्ट्रिय सहयोग जुटाउने कामसमेत अघि बढाएको छ।
विश्व बैंकसँगको समन्वयमा करिब २५ अर्ब रुपैयाँ बराबरको आर्थिक सहायता सुनिश्चित भइसकेको र चीन, भारत, जापान, एसियाली विकास बैंक तथा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघबाट समेत सहयोगको प्रतिबद्धता आएको अर्थमन्त्री वाग्लेले जानकारी दिए।
सरकारले चालु आर्थिक वर्षको बजेटमा विपद् व्यवस्थापनका लागि १० अर्ब रुपैयाँ विनियोजन गरेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ अर्ब ३४ करोड रुपैयाँ तथा गृह मन्त्रालयको कोषमा १ अर्ब १७ करोड रुपैयाँ मौज्दात रहेकाले तत्काल उद्धार तथा राहतका लागि स्रोतको कमी नहुने वाग्लेको दाबी छ।
वाग्लेले विपद्को सामना गर्न सरकारसँगै राजनीतिक दल, नागरिक समाज र निजी क्षेत्रलाई समेत समेटेर ‘होल अफ द सोसाइटी’ अवधारणामा अघि बढ्नुपर्ने बताए। राष्ट्रिय संकटको समयमा सबै राजनीतिक शक्ति एक ठाउँमा उभिनु नेपाली राजनीतिको सकारात्मक मौलिक चरित्र भएको उनको भनाइ छ।
प्रारम्भिक विवरणअनुसार विपद्का कारण २५ वटा पक्की पुलमा क्षति पुगेको छ भने निजी क्षेत्रका करिब ७०० मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरू प्रभावित भएका छन्। क्षतिको विस्तृत मूल्याङ्कनपछि पुनर्निर्माणलाई वैज्ञानिक तथ्य र जोखिम मूल्याङ्कनका आधारमा अघि बढाउनुपर्ने वाग्लेले बताए।
उनले २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै अहिले पनि दीर्घकालीन पुनर्निर्माणका लागि राष्ट्रिय अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए। यसैबीच, नवलपुर, चितवनलगायतका क्षेत्रमा भेटिएका शवको व्यवस्थापन तथा बेपत्ता नागरिकको खोजीलाई सरकारले उच्च प्राथमिकतामा राखेको अर्थमन्त्री वाग्लेले जानकारी दिए।
उद्धार र राहतपछि प्रभावित क्षेत्रको पुनर्स्थापना तथा पुनर्निर्माणलाई व्यवस्थित रूपमा अघि बढाउने सरकारको तयारी छ।







