भोटेकोशी बाढीमा ६४४ पर्यटक सम्पर्कविहीन

User Image Prime TV News २ हप्ता अगाडि
Image of भोटेकोशी बाढीमा ६४४ पर्यटक सम्पर्कविहीन

काठमाडौ । भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुगेको छ।

नेपाल पर्यटन बोर्डले ट्राभल एजेन्सी तथा सम्बन्धित कम्पनीबाट प्राप्त विवरणका आधारमा पछिल्लो तथ्यांक सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो। बोर्डका अनुसार सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै भारतीय पर्यटक १७८ जना छन्। त्यसपछि नेपाली पर्यटक १२७, अमेरिकी ६५ र युक्रेनी ५३ जना रहेका छन्।

त्यस्तै, मलेसियाका ५१, अस्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ जना पर्यटक सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ। बाढीका कारण सिंगापुरका ९, रुसका ८, जर्मनीका ८ तथा लात्भिया र दक्षिण अफ्रिकाका ६/६ जना पर्यटकसमेत सम्पर्कविहीन रहेको तथ्यांकमा उल्लेख छ।

भोटेकोशीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा नेपाली तथा विदेशी नागरिकको खोजी र उद्धार कार्य तीव्र पारिएको छ। पर्यटन बोर्डले ट्राभल एजेन्सी तथा पर्यटनसम्बन्धी कम्पनीबाट विवरण संकलन गरी सम्पर्कविहीन पर्यटकको अवस्थाबारे तथ्यांक अद्यावधिक गरिरहेको जनाएको छ।

सम्पर्कविहीन पर्यटकको संख्या बढ्दै गएपछि उद्धार तथा खोजी कार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वय बढाउनुपर्ने आवश्यकता देखिएको छ।