बाढी प्रभावित नुवाकोटबाट प्रधानमन्त्री बालेन फर्किए, भौतिकमन्त्री लम्साल फिल्डमै

User Image Prime TV News २ हप्ता अगाडि
Image of बाढी प्रभावित नुवाकोटबाट प्रधानमन्त्री बालेन फर्किए, भौतिकमन्त्री लम्साल फिल्डमै

काठमाडौ । प्रधानमन्त्री बालेन शाहले बाढीबाट प्रभावित नुवाकोट सदरमुकाम विदुर तथा आसपासका क्षेत्रको निरीक्षण गरी काठमाडौं फर्किएका छन्।

उनले प्रभावित क्षेत्रको अवस्था बुझ्दै बाढीपीडित, स्थानीय बासिन्दा तथा घाइतेहरूसँग भेट गरेका छन्। सरकारी स्रोतका अनुसार प्रधानमन्त्रीको नुवाकोट भ्रमण बिहीबारको पूर्वनिर्धारित कार्यक्रम थिएन। अन्तिम समयमा प्रधानमन्त्री शाहले आफैं प्रभावित क्षेत्र पुगेर बाढीपीडितको अवस्था बुझ्ने इच्छा व्यक्त गरेपछि भ्रमण तय भएको हो।

प्रधानमन्त्री शाह काठमाडौं फर्किए पनि भौतिक पूर्वाधार विकासमन्त्री सुनील लम्साल भने नुवाकोटमै छन्। उनी आफ्नो टोलीसहित नेपाली सेनाको ब्यारेक पुगेका थिए। सेनाले मन्त्री लम्साललाई नुवाकोटमा भइरहेको खोज तथा उद्धार कार्यको प्रगतिबारे जानकारी गराएको छ।

मन्त्री लम्सालले प्रभावित क्षेत्रमा शीघ्र प्रतिकार्य र उद्धारलाई थप तीव्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। यसैबीच सञ्चारमन्त्री विक्रम तिमिल्सिना बुधबार दिउँसोदेखि नै नुवाकोटका विभिन्न बाढी प्रभावित क्षेत्रमा स्थलगत निरीक्षणमा छन्। सरकारले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा खोजी कार्यलाई तीव्र बनाएको जनाएको छ।