नेपाल–चीन सीमा क्षेत्रमा प्राकृतिक बाँधसहितको विशाल ताल, तीन दिनभित्र फुट्ने जोखिम
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपालमा आएको विनाशकारी बाढी र पहिरोपछि नेपाल–चीन सीमा क्षेत्र नजिकै दुई नदीको संगममा ठूलो प्राकृतिक बाँधसहितको ताल बनेको छ।
चीनको जलस्रोत मन्त्रालयले उक्त ताल आगामी तीन दिनमा फुट्ने जोखिम उच्च रहेको चेतावनी दिएको छ। चीनको केन्द्रीय टेलिभिजन (सीसीटिभी)का अनुसार छोछेन खोला र पुरेपु त्साङ्पो नदीको संगम नजिकै ठूलो ‘ब्यारियर लेक’ बनेको हो।
बिहीबार बिहानसम्म तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको र पानी तालबाट बाहिरिन समेत थालेको चिनियाँ जलस्रोत मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार आगामी तीन दिनमा थप करिब ३० लाख घनमिटर पानी तालमा जम्मा हुने अनुमान छ।
पानीको मात्रा निरन्तर बढ्दै गए प्राकृतिक बाँध भत्किएर अचानक ठूलो बाढी आउन सक्ने भएकाले ताल फुट्ने जोखिम उच्च रहेको मन्त्रालयले जनाएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै चिनियाँ अधिकारीहरूले तालको अवस्थालाई नजिकबाट निगरानी गरिरहेका छन्।
प्राकृतिक बाँध फुटेमा बाढीको बहाव कुन दिशामा र कति तीव्र गतिमा फैलिन सक्छ भन्ने आकलन गर्न विभिन्न बाढी ‘सिमुलेसन’ तथा वैज्ञानिक विश्लेषण भइरहेको जनाइएको छ। सम्भावित आकस्मिक अवस्थालाई ध्यानमा राख्दै उद्धार तथा राहतका लागि आवश्यक तयारीसमेत भइरहेको मन्त्रालयले जनाएको छ।
नेपाल–चीन सीमा क्षेत्रमा नेपालको भूभागबाट सुरु भएको ठूलो पहिरोले चीनको दक्षिण–पश्चिमी सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत क्यिरोङ बन्दरगाह आसपासमा समेत ठूलो क्षति पुर्याएको छ। क्षतिग्रस्त क्षेत्रमा चिनियाँ जनमुक्ति सेना, आपत्कालीन उद्धारकर्मी, इन्जिनियरिङ टोली, दूरसञ्चार कम्पनी तथा राहत संस्थाहरू परिचालन गरिएको छ।
उनीहरूले घटनास्थलमा जनशक्ति, विमान, उद्धार उपकरण तथा आवश्यक राहत सामग्री पठाइरहेका छन्। दुर्गम तथा कठिन भौगोलिक अवस्था, निरन्तर वर्षा र थप प्राकृतिक विपद्को सम्भावनाका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको चिनियाँ पक्षले जनाएको छ। प्राकृतिक बाँध फुटेमा त्यसबाट निस्कने पानी र माटोको बहावले तल्लो तटीय क्षेत्रमा थप जोखिम निम्त्याउन सक्ने भएकाले नेपाल र चीन दुवैतर्फ उच्च सतर्कता अपनाइएको छ।







