विपद् राहत कोषमा रकम जम्मा गर्न कारोबार सीमा हटाइयो

User Image Prime TV News २ हप्ता अगाडि
Image of विपद् राहत कोषमा रकम जम्मा गर्न कारोबार सीमा हटाइयो

काठमाडौ । विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन सरकारले सञ्चालन गरेका कोषमा रकम जम्मा गर्दा लाग्ने कारोबार सीमा हटाइएको छ।

नेपाल राष्ट्र बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सहयोग रकम पठाउन चाहने व्यक्ति तथा संस्थाका लागि कारोबार सीमा लागू नहुने व्यवस्था गरेको हो। राष्ट्र बैंकले बुधबार आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा व्यवस्थापनका लागि सहयोग जुटाउन यस्तो व्यवस्था गरिएको जनाएको छ।

यससम्बन्धी सर्कुलर जारी गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कोषमा रकम पठाउँदा विद्यमान कारोबार सीमाले अवरोध नगर्ने व्यवस्था गर्न निर्देशन दिएको छ। हालको व्यवस्थाअनुसार मोबाइल बैंकिङबाट दैनिक अधिकतम तीन लाख रुपैयाँ तथा इन्टरनेट बैंकिङबाट दैनिक २० लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिने व्यवस्था छ।

तर विपद् प्रभावितका लागि सञ्चालन गरिएका सरकारी कोषमा रकम जम्मा गर्दा भने यी सीमा लागू नहुने भएका छन्। राष्ट्र बैंकको निर्णयसँगै स्वदेश तथा विदेशबाट विपद् राहतका लागि ठूलो रकम सहयोग गर्न चाहने व्यक्ति, संस्था तथा निजी क्षेत्रलाई सहज हुने अपेक्षा गरिएको छ। यसबाट उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक स्रोत जुटाउन थप सहयोग पुग्नेछ।