भोटेकोशीमा फेरि ठूलो बाढीको जोखिम, तल्लो तटीय क्षेत्रमा ‘हाइ अलर्ट’
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । भोटेकोशी नदीमा फेरि ठूलो बाढी आउन सक्ने जोखिम देखिएपछि सरकारी निकायले तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
चीनतर्फ नदी थुनिएर बनेको ठूलो ताल जुनसुकै बेला फुट्न सक्ने सम्भावना रहेकाले प्रभावित क्षेत्रमा ‘हाइ अलर्ट’ जारी गरिएको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र बाढी पूर्वानुमान महाशाखाले शुक्रबार साँझ विशेष सूचना जारी गर्दै भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्काल सुरक्षित तथा अग्लो स्थानमा जान आग्रह गरेका छन्।
चीन सरकारले परराष्ट्र मन्त्रालयमार्फत उपलब्ध गराएको पछिल्लो सूचना तथा भू–उपग्रहबाट प्राप्त तस्बिरको प्रारम्भिक विश्लेषणअनुसार यसअघि बाढी आएको स्थानमै नदी थुनिएर ठूलो ताल बनेको पाइएको छ। प्राविधिक विश्लेषणअनुसार उक्त तालमा पानीको मात्रा निरन्तर बढिरहेको छ र प्राकृतिक बाँध जुनसुकै बेला फुट्न सक्ने जोखिम रहेको छ।
ताल फुटेमा भोटेकोशी नदीमा पुनः ठूलो र तीव्र बहाव आउन सक्ने भएकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको हो। बाढी पूर्वानुमान महाशाखाले अर्को सूचना जारी नभएसम्म तल्लो तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमै रहन आग्रह गरेको छ। नदी आसपास यात्रा गरिरहेका यात्रुलाई समेत विशेष सावधानी अपनाउन र नदी किनारका सडकमा यात्रा नगर्न अनुरोध गरिएको छ।
त्यस्तै, खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र अन्य उद्धारकर्मीलाई समेत जोखिमयुक्त क्षेत्रमा सावधानीपूर्वक काम गर्न तथा आफ्नो सुरक्षालाई प्राथमिकता दिन आग्रह गरिएको छ। यसअघि चीनको विदेश मन्त्रालयले पनि नदी थुनिएर बनेको उक्त जलाशय आगामी तीन दिनभित्र फुट्न सक्ने चेतावनी दिएको थियो। पछिल्लो सूचनापछि नेपालतर्फ भोटेकोशीको तल्लो तटीय क्षेत्रमा सम्भावित जोखिम न्यूनीकरणका लागि थप सतर्कता अपनाइएको छ।







