पृथ्वी राजमार्ग अझै अवरुद्ध, आजै खुलाउने प्रयास तीव्र

User Image Prime TV News २ हप्ता अगाडि
Image of पृथ्वी राजमार्ग अझै अवरुद्ध, आजै खुलाउने प्रयास तीव्र

काठमाडौ । काठमाडौं–मुग्लिन सडकखण्डअन्तर्गत पर्ने पृथ्वी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण धादिङको गल्छी र गजुरी गाउँपालिकाका विभिन्न स्थानमा लेदो थुप्रिएपछि बुधबार साँझदेखि राजमार्ग अवरुद्ध भएको हो ।

ट्राफिक प्रहरी उपरीक्षक डिल्ली नारायण पाण्डेयका अनुसार गजुरी गाउँपालिकाका दुई र गल्छी गाउँपालिकाको एक स्थानमा थुप्रिएको लेदो हटाउन बाँकी छ ।

गजुरी गाउँपालिका–५ को गलौदी र बाहुनी भिर तथा गल्छी गाउँपालिकाको महेश दोभान क्षेत्रमा सडकमा ठूलो मात्रामा लेदो थुप्रिएको छ । ती स्थानमा उपकरण प्रयोग गरी लेदो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

बस्ती रहेको क्षेत्रमा थुप्रिएको लेदो हटाएर अन्यत्र व्यवस्थापन गर्नुपर्ने भएकाले सडक खुलाउन केही समय लागेको पाण्डेयले बताए । उनका अनुसार गजुरी–५ स्थित बाहुनी भिरमा थुप्रिएको लेदो हटाउन अझै उपकरण पुग्न सकेको छैन ।

बाहुनी भिरमा काम सुरु गर्नुअघि गलौदी र महेश दोभानको लेदो हटाउनुपर्ने अवस्था रहेको उनले बताए । सडक खुलाउन उपकरणसहित टोली परिचालन गरी काम भइरहेको र आज दिनभरिमा पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउने लक्ष्यसहित काम तीव्र पारिएको प्रहरीले जनाएको छ ।

बाढी तथा पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि यात्रु तथा मालवाहक सवारीसाधन बाटोमै रोकिएका छन् ।