नेपाललाई सहयोग गर्ने अमेरिकाको घोषणा, ट्रम्पले भने: ‘जुनसुकै सहायता दिन तयार छौँ’
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । विनाशकारी बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि अमेरिकाले नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा भएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै नेपाल सरकारसँग सम्पर्क गरी आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रस्ताव गरिएको बताएका छन् ।
नेपालमा आएको भीषण बाढी र पहिरोका कारण हालसम्म करिब ४ सय भन्दा वढीको मृत्यु पुष्टि भएको छ भने झन्डै एक हजार मानिस अझै बेपत्ता रहेको बताइएको छ । विपद्का कारण ठूला तथा मजबुत संरचनासमेत क्षतिग्रस्त भएका छन् ।
राष्ट्रपति ट्रम्पले विपद्को अवस्था निकै भयावह रहेको उल्लेख गर्दै नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तयार रहेको बताएका हुन् । उनले भने, ‘हामीले नेपालमा फोन गरेर उनीहरूलाई आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउने प्रस्ताव गरेका छौँ ।’
यसैबीच, अमेरिकी अधिकारीहरूले विपद् प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको अवस्था र सुरक्षाबारे पनि जानकारी लिने प्रयास गरिरहेका छन् ।
नेपालमा खोजी, उद्धार तथा राहत अभियान जारी रहेका बेला अमेरिकाले सहयोगको प्रस्ताव गरेपछि विपद् व्यवस्थापनमा अन्तर्राष्ट्रिय सहयोग जुट्ने अपेक्षा गरिएको छ ।







