जनैपूर्णिमा तथा रक्षाबन्धन आज मनाइँदै

User Image Prime TV News २ हप्ता अगाडि
Image of जनैपूर्णिमा तथा रक्षाबन्धन आज मनाइँदै

काठमाडौ । श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज देशभर जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व धार्मिक विधिअनुसार मनाइँदै छ।

हिन्दु धर्मावलम्बीहरूले बिहानै नदी, पोखरी तथा विभिन्न जलाशयमा स्नान गरी ऋषिहरूको पूजा तथा तर्पण दिने परम्परा छ।जनैपूर्णिमाका दिन विशेषगरी तागाधारी समुदायले पुरानो जनै फेरेर नयाँ जनै धारण गर्ने गर्दछन्।

नयाँ जनै धारण गर्नुअघि सप्तऋषिको पूजा तथा तर्पण गर्ने धार्मिक प्रचलन छ। यस दिन गुरु तथा पुरोहितबाट नाडीमा रक्षाबन्धन अर्थात् डोरो बाँध्ने चलन पनि छ। धार्मिक मान्यताअनुसार रक्षाबन्धनले मानिसको रक्षा र कल्याण हुने विश्वास गरिन्छ।

त्यस्तै, पछिल्लो समय जनैपूर्णिमामा दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँध्ने परम्परा पनि छ। दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख र स्वास्थ्यको कामना गर्दै राखी बाँध्ने तथा दाजुभाइले उपहार वा दक्षिणा दिने प्रचलन छ।

जनैपूर्णिमा धार्मिक अनुष्ठानसँगै पारिवारिक सम्बन्ध र आपसी सद्भावलाई बलियो बनाउने पर्वका रूपमा पनि मनाइन्छ।