भोटेकोशीको बाढी स्याफ्रुबेँसी आइपुग्यो, मुग्लिनसम्म उच्च सतर्कता अपनाउन आग्रह

User Image Prime TV News २ हप्ता अगाडि
Image of भोटेकोशीको बाढी स्याफ्रुबेँसी आइपुग्यो, मुग्लिनसम्म उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौ । बाढी पूर्वानुमान महाशाखाले रसुवाको भोटेकोशी नदीमा पानीको बहाव बढिरहेको र बाढी स्याफ्रुबेँसीसम्म आइपुगेको जनाएको छ।

महाशाखाले शुक्रबार सूचना जारी गर्दै त्रिशूली नदीको तटीय क्षेत्र मुग्लिनसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। महाशाखाले भनेको छ, “भोटेकोशी नदी रसुवामा बाढी बढिरहेको र बाढी स्याफ्रुबेँसीसम्म आइपुगेको हुँदा त्रिशूली नदीको तटीय क्षेत्र (मुग्लिनसम्म) अर्को सूचना नआउँदासम्म उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन अनुरोध छ।”

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि रसुवाको भोटेकोशी नदी क्षेत्रमा पुनः लेदोसहितको बाढीको जोखिम बढेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

शुक्रबार जारी विज्ञप्तिमा प्राधिकरणले भदौ १० गते भीषण बाढी आएको क्षेत्रमै पुनः लेदोसहित पानीको बहाव केही बढेको सूचना प्राप्त भएको जनाएको छ। माथिल्लो क्षेत्रमा लेदो बढेकाले थप बाढी आउन सक्ने जोखिम कायमै रहेको प्राधिकरणले स्पष्ट पारेको छ।

प्राधिकरणका उपसचिव एवं प्रवक्ता शान्ति महतद्वारा हस्ताक्षरित सूचनामा भोटेकोशी तथा त्रिशूली नदी किनारमा उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक र जोखिमपूर्ण क्षेत्रमा रहेका सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

नदी किनार तथा आसपासका सम्भावित जोखिम क्षेत्रमा रहेका नागरिकलाई खतरा बढेको संकेत देखिएमा तत्काल सुरक्षित स्थानतर्फ जानसमेत विशेष अनुरोध गरिएको छ।