केरुङ विपत्तिपछि नेपाललाई सहयोग गर्ने चीनको निर्णय

User Image Prime TV News २ हप्ता अगाडि
Image of केरुङ विपत्तिपछि नेपाललाई सहयोग गर्ने चीनको निर्णय

काठमाडौ । नेपाल–चीन सीमा क्षेत्रमा गएको विनाशकारी बाढी तथा पहिरोपछि चीनले नेपाललाई आपत्कालीन सहायता उपलब्ध गराउने भएको छ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को राजनीतिक ब्यूरोको शुक्रबार बसेको बैठकले विपत्तिबाट प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका लागि आवश्यक सहयोग अघि बढाउने निर्णय गरेको हो।

राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा बसेको बैठकले चीनको तिब्बतस्थित ग्यिरोङ काउन्टीमा गएको विनाशकारी पहिरो तथा त्यसबाट सिर्जित बाढीको अवस्थाबारे समीक्षा गर्दै उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन निर्देशन दिएको छ। बैठकले नेपालसँग अन्तर्राष्ट्रिय उद्धार सहकार्य अघि बढाउने विषयमा समेत जोड दिएको छ।

बैठकको सुरुवातमा राष्ट्रपति सीसहित चिनियाँ नेतृत्वले बुधबार ग्यिरोङ सीमा नाकामा भएको प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाहरूको सम्झनामा एक मिनेट मौनधारण गरेका थिए। विपत्तिमा ठूलो जनधनको क्षति हुनुका साथै सयौँ मानिस अझै बेपत्ता रहेकाले खोज तथा उद्धार कार्यलाई उच्च प्राथमिकता दिइएको चिनियाँ पक्षले जनाएको छ।

चिनियाँ नेतृत्वले अत्यधिक चिसो हिमाली भूगोल, भिराला उपत्यका, बदलिँदो मौसम, आसपासका हिमनदी तथा हिमताल र सम्भावित भौगर्भिक जोखिमका कारण उद्धार कार्य जटिल बनेको जनाएको छ। त्यसैले वैज्ञानिक ढंगले खोज तथा उद्धार योजना बनाएर प्रभावित क्षेत्रमा निरन्तर निगरानी र समन्वय गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

नेपालतर्फ पनि बाढी तथा पहिरोले ठूलो क्षति पुर्‍याएको छ। पछिल्लो विवरणअनुसार रसुवालगायत उत्तरी क्षेत्रमा सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य पूर्वाधारमा व्यापक क्षति पुगेको छ। ठूलो संख्यामा मानिसको मृत्यु तथा बेपत्ता भएपछि नेपाली सुरक्षा निकायले खोज तथा उद्धारलाई तीव्रता दिएका छन्। 

यसैबीच, चीनले आफ्नो सीमावर्ती क्षेत्रमा उद्धार तथा विपद् व्यवस्थापनका लागि ठूलो संख्यामा सुरक्षाकर्मी, उद्धार टोली र अन्य स्रोतसाधन परिचालन गरेको छ। चिनियाँ अधिकारीहरूले नेपालसँग विपद् जोखिम न्यूनीकरण, आपत्कालीन व्यवस्थापन, सूचना आदानप्रदान र उद्धार सहकार्यलाई थप बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।

नेपाल–चीन सीमामा भएको यस विपत्तिले हिमाली क्षेत्रमा विपद् जोखिम व्यवस्थापन र पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि उजागर गरेको छ। दुवै देशका प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य जारी रहेकाले आगामी दिनमा चीनको सहयोग र नेपाल–चीन समन्वय अझ महत्वपूर्ण हुने देखिएको छ।