रसुवा बाढीबारे भारतमा उच्चस्तरीय छलफल, उद्धार र राहतलाई ‘उच्चतम प्राथमिकता’
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाल–चीन सीमाक्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोपछि जारी उद्धार तथा राहत प्रयासबारे भारतमा उच्चस्तरीय छलफल भएको छ।
भारतीय विदेशमन्त्री एस जयशंकरले शुक्रबार नेपालमा भइरहेका उद्धार तथा राहत कार्यबारे छलफल गरिएको जानकारी दिएका छन्। जयशंकरका अनुसार काठमाडौं र बेइजिङस्थित भारतीय दूतावासले नेपाल तथा चीनमा रहेका भारतीय नागरिकको अवस्था र उनीहरूको सुरक्षाबारे नियमित अद्यावधिक जानकारी उपलब्ध गराइरहेका छन्।
त्यसैगरी, भारतीय विदेश मन्त्रालयका सम्बन्धित विभागले नेपालमा थप राहत सामग्री पठाउने विषयमा समेत जानकारी गराएको उनले बताएका छन्। जयशंकरले रसुवामा आएको बाढी तथा त्यसबाट प्रभावित भारतीय नागरिकको विषयलाई भारत सरकारले ‘उच्चतम प्राथमिकता’ दिएको बताएका छन्।
नेपाल–चीन सीमाक्षेत्रमा आएको बाढी र पहिरोका कारण ठूलो संख्यामा मानिस बेपत्ता भएका छन्। विपद्मा भारतीय नागरिकसमेत प्रभावित भएका छन्। भारतले यसअघि नै नेपालमा राहत सामग्री पठाउनुका साथै उद्धार तथा राहत कार्यमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको छ।







