रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन

User Image Prime TV News २ हप्ता अगाडि
Image of रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन

काठमाडौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म ५ सय ३८ जनाको मृत्यु भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २०८३ भदौ १२ गते दिउँसो ३ बजेसम्मको विवरण सार्वजनिक गर्दै मृत्यु हुनेको संख्या ५३८ पुगेको जनाएको हो। बाढीमा बगेर सबैभन्दा धेरै चितवनमा २ सय २१ जनाको मृत्यु भएको छ। यस्तै, नवलपरासी पूर्वमा १ सय ३४, गोरखामा विभिन्न मानव अङ्गसहित ४६, नुवाकोटमा ३७ र धादिङमा ३३ जनाको शव फेला परेको छ।

तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। विपद्मा परी ७३ जना घाइते भएका छन्। घाइतेमध्ये रसुवाका ४३, नुवाकोटका २७ र धादिङका ३ जना छन्।

बाढीपछि ९ सय ७७ जना अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीन हुनेमा विदेशी नागरिकको संख्या ठूलो छ। विवरणअनुसार ५ सय १७ जना विदेशी नागरिक तथा नेपाल घुम्न आएका विदेशमा बस्ने १ सय २७ जना नेपाली सम्पर्कमा छैनन्।

जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (डीईओसी) बाट प्राप्त विवरणअनुसार रसुवाका १ सय ६१, मकवानपुरका ६६ र नुवाकोटका १ जना पनि हराइरहेका छन्। विपद्को उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी र कर्मचारीसमेत सम्पर्कविहीन भएका छन्।

नेपाली सेनाका ४५, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बलका १३ जना सुरक्षाकर्मीको अवस्था अज्ञात छ। यस्तै, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना कर्मचारी पनि सम्पर्कविहीन छन्।

बेपत्ताको खोजी तथा प्रभावितको उद्धारका लागि १४ हजार ८ सय २९ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाली सेनाका ६ हजार ६ सय ९८, नेपाल प्रहरीका ४ हजार ४ सय ७३ र सशस्त्र प्रहरी बलका ३ हजार ६ सय ५८ जना छन्।

हालसम्म २५ जना विदेशी नागरिकसहित ३ हजार ७ सय ४२ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। उद्धार तथा राहतका लागि नेपाली सेना र निजी कम्पनीका गरी ७८ वटा हवाई उडान भएका छन्।