बाढीबाट क्षतिग्रस्त पुल पुनर्निर्माणका लागि भारत र चीनसँग ४२ बेलिब्रिज माग

User Image Prime TV News २ हप्ता अगाडि
Image of बाढीबाट क्षतिग्रस्त पुल पुनर्निर्माणका लागि भारत र चीनसँग ४२ बेलिब्रिज माग

काठमाडौ । सरकारले बाढीबाट क्षतिग्रस्त पुलको तत्काल पुनर्निर्माणका लागि भारत र चीनसँग ४२ वटा बेलिब्रिज सहयोग मागेको छ।

परराष्ट्र मन्त्रालयले दुवै छिमेकी मुलुकसँग बेलिब्रिज सहयोगका लागि शुक्रबार औपचारिक पत्राचार गरेको हो। बाढीबाट क्षतिग्रस्त सडक तथा पुल तत्काल सञ्चालनमा ल्याउन सरकारले भारत र चीनसँग सहयोग मागेको हो।

बुधबार आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङका ४१ वटा पुल पूर्णरूपमा क्षतिग्रस्त भएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। बाढीले पुल बगाएपछि प्रभावित क्षेत्रमा यातायात तथा आवतजावतमा थप समस्या भएको छ।

मन्त्रालयका अनुसार हाल नेपालसँग ७ वटा बेलिब्रिज मात्र मौज्दात छन्। क्षतिग्रस्त पुलको संख्या धेरै भएकाले तत्काल आवतजावत सहज बनाउन छिमेकी मुलुकबाट थप बेलिब्रिज सहयोग मागिएको हो। बाढीबाट रसुवा, नुवाकोट र धादिङमा सडक तथा पुल संरचनामा ठूलो क्षति पुगेको छ।

क्षतिग्रस्त पूर्वाधारलाई प्राथमिकताका आधारमा पुनः सञ्चालनमा ल्याउने तयारी सरकारले अघि बढाएको छ।