राष्ट्रपति सीले बाढी तथा पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए समवेदना सन्देश
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालमा हालै गएको विनाशकारी बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाएका छन्।
नेपालस्थित चिनियाँ दूतावासका अनुसार राष्ट्रपति सीले शुक्रबार राष्ट्रपति पौडेललाई समवेदना सन्देश पठाएका हुन्।
यसैबीच, राष्ट्रपति सीले शुक्रबार नै चिनियाँ कम्युनिस्ट पार्टीको आकस्मिक बैठक बोलाएका थिए। बैठकमा उनले नेपाल–चीन सीमाक्षेत्रमा बाढी तथा पहिरोका कारण बनेको अवरोध ताल (ब्यारियर लेक) प्रति विशेष ध्यान दिन सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएको दूतावासले जनाएको छ।
बुधबार नेपाल–तिब्बत सीमाक्षेत्रमा आएको आकस्मिक बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण सीमाक्षेत्रका सडक, पुल तथा अन्य भौतिक संरचनामा समेत व्यापक क्षति पुगेको छ।
चिनियाँ पक्षले विपद्पछिको उद्धार तथा राहत प्रयासमा आवश्यक सहयोग र समन्वयलाई प्राथमिकतामा राखेको जनाएको छ।







