उच्च उचाइको हिमनदी भत्किँदा नेपालमा विपत्ति आएको चीनको दाबी

User Image Prime TV News २ हप्ता अगाडि
Image of उच्च उचाइको हिमनदी भत्किँदा नेपालमा विपत्ति आएको चीनको दाबी

काठमाडौ । चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नेपालमा आएको पछिल्लो बाढी उच्च उचाइमा रहेको हिमनदी भत्किएपछि उत्पन्न भएको प्रारम्भिक मूल्याङ्कन सार्वजनिक गरेका छन्।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा चीनको केरुङ र नेपालमा आएको बाढीबारे पत्रकारहरूले राखेका जिज्ञासाको जवाफ दिँदै प्रवक्ता लिनले चीन र नेपालका विज्ञ तथा सम्बन्धित आधिकारिक निकायले गरेको प्रारम्भिक मूल्याङ्कनअनुसार विपत्तिको कारण उच्च उचाइमा रहेको हिमनदी भत्किनु रहेको बताएका हुन्।

‘चीन र नेपालका विज्ञहरू तथा आधिकारिक संस्थाहरूले विपत्तिको कारणबारे प्रारम्भिक मूल्याङ्कन गरेको हामीले जानकारी पाएका छौँ। उनीहरूको विश्लेषणअनुसार, नेपालमा उच्च उचाइमा रहेको एउटा हिमनदी भत्किएपछि यो विपत्ति उत्पन्न भएको हो,’ लिनले भने।

उनले बाढी तथा त्यसबाट उत्पन्न परिस्थितिबारे शुक्रबार चिनियाँ कम्युनिस्ट पार्टीको बैठकले गरेका निर्णयहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिने पनि बताएका छन्। नेपाल–चीन सीमाक्षेत्रमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ।

बाढीपछि उद्धार तथा राहत कार्य जारी रहँदा विपत्तिको कारण र जोखिम न्यूनीकरणका विषयमा दुवै देशका सम्बन्धित निकायले अध्ययन गरिरहेका छन्।