पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा

User Image Prime TV News २ हप्ता अगाडि
Image of पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौ । बाढीका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग शुक्रबार रातिदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।

रसुवाको भोटेकोशीमा बुधबार आएको विनाशकारी बाढीका कारण धादिङको बैरेनीदेखि गलौदीसम्मको काठमाडौं–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा लेदो थुप्रिएको थियो ।

लेदो पन्छाएपछि शुक्रबार राति ८ बजेदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगरका प्रमुख डिल्ली नारायण पाण्डेले जानकारी दिए ।

बाढीका कारण राजमार्गमा अलपत्र परेका सवारीसाधनलाई प्राथमिकताका साथ गन्तव्यतर्फ पठाइएको उनले बताए । सडकमा सवारीसाधनको चाप रहेकाले समस्या भएका स्थानमा सुरक्षाकर्मी परिचालन गरी यातायात व्यवस्थापन भइरहेको छ ।

पाण्डेका अनुसार बैरेनी क्षेत्रमा अझै केही लेदो पन्छाउन बाँकी छ । उक्त क्षेत्रमा लेदो हटाउने काम जारी रहेकाले तत्काल दुईतर्फी यातायात सञ्चालन गर्न कठिनाइ भइरहेको उनले बताए ।

‘बैरेनी क्षेत्रमा केही समस्या छ । दुई–चार घण्टामा लेदो पन्छाउन सकिन्छ,’ उनले भने, ‘तर सडकमा सवारी सञ्चालन भइरहँदा काम गर्न असहज हुन्छ । दुईतर्फी सडक सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।’

सडक पूर्ण रूपमा सञ्चालनमा नआएसम्म यात्रु तथा चालकलाई सावधानी अपनाउन र ट्राफिक प्रहरीको निर्देशन पालना गर्न आग्रह गरिएको छ ।