आज देशभर वर्षाको सम्भावना, केही स्थानमा धेरै भारी वर्षा हुनसक्ने

User Image Prime TV News २ हप्ता अगाडि
Image of आज देशभर वर्षाको सम्भावना, केही स्थानमा धेरै भारी वर्षा हुनसक्ने

काठमाडौ । देशका अधिकांश भूभागमा आज वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन पुनः सक्रिय भएसँगै वर्षाको गतिविधि अघिल्लो दिनको तुलनामा बढ्ने महाशाखाको पूर्वानुमान छ । महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा रातिको समयमा धेरै भारी वर्षा हुनसक्ने मौसमविद्ले बताएका छन् ।

बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा दिउँसो हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । ती जिल्लाका एक–दुई स्थानमा रातिको समयमा भारी वर्षा हुनसक्ने मौसमविद् बिनु महर्जनले जानकारी दिइन् ।

बागमती प्रदेशमा सिन्धुपाल्चोकमा समेत वर्षाको सम्भावना बढी रहेको महर्जनले बताइन् । आज राति पूर्वी तथा पश्चिमी भूभागका केही स्थानमा वर्षाको मात्रा बढ्नसक्ने उनको भनाइ छ ।

महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेकाले वर्षाको गतिविधि बढेको हो । आज र भोलि देशका धेरै स्थानमा मध्यमसम्म वर्षा हुने तथा केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।

२४ घण्टामा १० देखि ५० मिलिमिटरसम्म वर्षा भए मध्यम, ५० देखि १०० मिलिमिटरसम्म भए भारी र १०० देखि २०० मिलिमिटरसम्म वर्षा भए धेरै भारी वर्षा मानिन्छ । २०० मिलिमिटरभन्दा बढी वर्षा भए अति भारी वर्षा मानिन्छ ।

भारी तथा धेरै भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।