१५ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहलाई सरकारले ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ ।
सरकारले गरेको निर्णय नेपाल राजपत्रमा सूचना प्रकाशित भएपछि औपचारिक रूपमा कार्यान्वयनमा आएको हो । गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा (१) बमोजिम १५ स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।
घोषित क्षेत्रमा रसुवाका उत्तरगया, गोसाइँकुण्ड, कालिका र आमाछोदिङमो गाउँपालिका रहेका छन् । त्यस्तै, नुवाकोटका विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिका समेटिएका छन् ।
धादिङका गल्छी, सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाउँपालिका पनि विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका छन् । तनहुँका देवघाट र आँबुखैरेनी गाउँपालिका तथा गोरखाको गण्डकी गाउँपालिका पनि उक्त सूचीमा छन् ।
नेपाल–चीन सीमास्थित भोटेकोशी–ल्हेन्दे क्षेत्रमा आएको भीषण बाढीका कारण यी स्थानीय तहमा ठूलो जनधनको क्षति भएको भन्दै सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।
विपद् संकटग्रस्त क्षेत्र घोषणा भएपछि प्रभावित क्षेत्रमा राहत, उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाउन सरकारलाई कानुनी आधार थप सहज हुनेछ । साथै आवश्यक स्रोतसाधन परिचालन र विपद् व्यवस्थापनका कार्यलाई तीव्रता दिन सकिनेछ ।







