नेपाल ‘ए’ आज भिक्टोरिया सीए–११ विरुद्ध, सुखद अन्त्यको लक्ष्य
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । अस्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज भिक्टोरिया क्रिकेट संघ–११ विरुद्ध खेल्दैछ ।
डार्विनस्थित मारारा क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो १ः१५ बजे सुरु हुनेछ । सेमिफाइनल दौडबाट बाहिरिइसकेको नेपाल प्रतियोगिताको अन्तिम खेलमा जित निकाल्दै सुखद अन्त्य गर्ने लक्ष्यमा छ ।
पाँच खेलबाट चार अंक जोडेको नेपाल तालिकाको सातौँ स्थानमा रहेको छ । प्रतियोगितामा नेपालले अहिलेसम्म दुई खेल जित्दा तीन खेलमा पराजय व्यहोरेको छ ।
नेपाल पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेट र दोस्रो खेलमा बंगलादेश हाइपरफर्मेन्स–११ सँग नौ विकेटले पराजित भएको थियो ।
त्यसपछि नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रन तथा अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई चार विकेटले हराएको थियो । पाँचौँ खेलमा भने नेपाल हैदराबाद किङ्समेन एकेडेमीसँग ३१ रनले पराजित भएको थियो ।
आज भिक्टोरिया सीए–११ विरुद्ध जित निकाल्दै नेपाल प्रतियोगिताको अन्त्य सुखद बनाउने योजनामा छ ।







