रसुवा बाढीमा बेपत्तामध्ये ६१६ जनाको शव फेला
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म ६१६ जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीका अनुसार शनिबार बिहान ७ बजेसम्म विभिन्न आठ जिल्लाबाट ६१६ जनाको शव फेला परेको हो । प्रहरीको विवरणअनुसार रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४५, चितवनमा २३३, गोरखामा ४८, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ४७ जनाको शव फेला परेको छ ।
बाढी तथा पहिरोमा फसेका नागरिकको उद्धार कार्य पनि जारी छ । प्रहरीका अनुसार अहिलेसम्म विभिन्न स्थानबाट २ हजार ३०१ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये रसुवाबाट ६७६, नुवाकोटबाट १ हजार ६२२ र धादिङबाट तीन जना रहेका छन् ।
भोटेकोशीमा आएको बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ तथा नवलपरासीका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ । प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहतको काम जारी रहेको प्रहरीले जनाएको छ ।







