चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा उद्धार टोली १३० मिटरसम्म पुग्यो

User Image Prime TV News २ हप्ता अगाडि
Image of चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा उद्धार टोली १३० मिटरसम्म पुग्यो

काठमाडौ । चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिको खोज तथा उद्धारका लागि पर्वतारोहीसहितको टोली सुरुङभित्र प्रवेश गरेको छ ।

नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका पर्वतारोही तथा सिम्रिक हेलिकप्टरको टोलीले सुरुङभित्र पुगेर अवस्थाको निरीक्षण गर्दै उद्धार प्रयास गरेको हो ।

टोलीका अनुसार सुरुङभित्र गहिरो हिलो, माटो र लेदो जमेकाले सुरुङ पूर्ण रूपमा अवरुद्ध भएको छ । डोरीको सहायताले सुरक्षित रूपमा अघि बढेको टोली करिब १२० देखि १३० मिटरभित्रसम्म पुगेको थियो । तर छातीसम्म आउने हिलोका कारण थप अघि बढ्न कठिन भएपछि अवरुद्ध स्थानसम्म पुग्न नसकिएको टोलीले जनाएको छ ।

उद्धार कार्यलाई प्रभावकारी बनाउन सुरुङभित्र जमेको हिलो तथा लेदो हटाउन होज पाइपसँगै पम्प र मोटर प्रणाली प्रयोग गर्नुपर्ने टोलीको सुझाव छ । अवरुद्ध भाग सफा गर्न सके सुरुङभित्र फसेका व्यक्तिसम्म पुग्न सकिने सम्भावना रहेको टोलीले जनाएको छ ।

यसैबीच, आजको खोज तथा उद्धारका क्रममा सुरुङबाहिर एक जना मृत अवस्थामा फेला परेका छन् । नेपाली सेनाको टोलीले शव व्यवस्थापन गरी घटनास्थलबाट बाहिर ल्याएको छ ।

खोज तथा उद्धारका लागि पर्वतारोही आशिष गुरुङ, दोर्जी शेर्पा, जेन्जेन लामा, सविन ठकुरी, तुलिसिङ गुरुङ र पासाङ तेण्डी शेर्पासहितको टोली परिचालन भएको थियो ।

नेपाल सरकारले आवश्यकताअनुसार जहाँ र जुनसुकै समयमा परिचालनका लागि आह्वान गरे पनि खोज तथा उद्धार कार्यमा सहयोग गर्न आफूहरू तयार रहेको टोलीले जनाएको छ।