रसुवा बाढी : ११ जलविद्युत् आयोजनाका ८९८ जना अझै सम्पर्कविहीन

User Image Prime TV News २ हप्ता अगाडि
Image of रसुवा बाढी : ११ जलविद्युत् आयोजनाका ८९८ जना अझै सम्पर्कविहीन

काठमाडौ । रसुवामा भदौ १० गते आएको विनाशकारी बाढीका कारण ११ जलविद्युत् आयोजनाका ८९८ जना अझै सम्पर्कविहीन रहेको पाइएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार सबैभन्दा धेरै माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका ५७६ जना सम्पर्कविहीन छन् । रसुवामा रहेको २१६ मेगावाट क्षमताको उक्त आयोजनाको सुरुङ क्षेत्रमा ठूलो क्षति पुगेको छ ।

यस्तै, रसुवागढी जलविद्युत् आयोजनाका ९३ जना सम्पर्कविहीन छन् । रसुवा–भोटेकोशी आयोजनाका चार, लाङटाङ खोला आयोजनाका ४२, चिलिमे जलविद्युत् आयोजनाका आठ र मेलुङ खोला जलविद्युत् आयोजनाका सात जना बेपत्ता रहेको इप्पानले जनाएको छ ।

नुवाकोटतर्फ माथिल्लो त्रिशूली–३ बी आयोजनाका १२२ जना सम्पर्कविहीन छन् । माथिल्लो त्रिशूली–३ ए आयोजनाका ४२ जना तथा मिडिल त्रिशूली गंगाका दुई जना सम्पर्कविहीन छन् । त्यस्तै, त्रिशूली जलविद्युत् आयोजना र देविघाट जलविद्युत् आयोजनाका एक–एक जना बेपत्ता छन् ।

इप्पानका अनुसार माथिल्लो त्रिशूली–१, माथिल्लो त्रिशूली–३ ए र माथिल्लो त्रिशूली–३ बीका सुरुङमा मात्रै करिब ३०० जना फसेका छन् । यसबीच, जलविद्युत् आयोजनाबाट अहिलेसम्म ३६१ जनाको जीवित उद्धार गरिएको छ ।

उद्धार गरिएकामध्ये माथिल्लो त्रिशूली–१ बाट २५४, लाङटाङ खोलाबाट १८ र माथिल्लो त्रिशूली–३ बी आयोजनाबाट ९१ जना रहेका छन् । बाढीपछि प्रभावित जलविद्युत् आयोजनामा फसेका तथा सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ ।

सुरुङभित्र हिलो, लेदो तथा पानी जमेकाले उद्धारमा कठिनाइ भइरहेको छ ।