परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच टेलिफोन वार्ता
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । परराष्ट्रमन्त्री शिशिर खनाल र चीनका विदेशमन्त्री वाङ यीबीच शनिबार टेलिफोन वार्ता भएको छ ।
वार्तामा नेपाल–चीनबीच विपद् व्यवस्थापन, सूचना आदानप्रदान तथा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।
भविष्यमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरण गर्न प्रभावकारी पूर्वसूचना प्रणाली विकास गर्ने तथा दुई देशबीच रहेका विद्यमान संयन्त्रलाई थप सुदृढ बनाउँदै सहकार्य बढाउनेमा दुवै पक्षले जोड दिएका छन् ।
वार्ताका क्रममा दुवै मन्त्रीले रसुवा–जिलोङ सीमावर्ती क्षेत्रको विनाशकारी बाढीबाट नेपाल र चीनमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका थिए ।
बाढीपछि दुई देशबीच विपद् सूचना आदानप्रदान तथा पूर्वतयारीलाई थप व्यवस्थित बनाउने आवश्यकता देखिएको भन्दै आगामी दिनमा यस क्षेत्रमा सहकार्यलाई प्राथमिकता दिने विषयमा समेत छलफल भएको छ ।







