भोटेकोशीमा फेरि बाढी बढ्यो, प्रभावित क्षेत्रमा सतर्कता अपनाउन आग्रह

User Image Prime TV News २ हप्ता अगाडि
Image of भोटेकोशीमा फेरि बाढी बढ्यो, प्रभावित क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौ । रसुवाको भोटेकोशी नदीमा आइतबार बिहानैदेखि बाढीको बहाव पुनः बढेको छ ।

बाढीको बहाव बढेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत प्रभावित क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

भदौ १० गते तिब्बततर्फबाट आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी रहेकै बेला नदीको बहाव पुनः बढेको हो ।

प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी, तटीय क्षेत्रमा रहेका नागरिक तथा अन्य सम्बन्धित सबैलाई सतर्क रहन आग्रह गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार धादिङस्थित त्रिशूली नदीमा जलसतह खतराको तहभन्दा करिब ३ मिटर माथि पुगेको छ । भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण त्रिशूली नदीको जलसतह बढेको हो ।

यसैगरी गण्डकी प्रदेशका विभिन्न जलाधार क्षेत्रमा भारी वर्षा भएकाले नारायणी नदी र यसका सहायक नदीमा समेत जलसतह बढ्न सक्ने महाशाखाले जनाएको छ । तटीय क्षेत्रमा रहेका नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

सिन्धुलीको खुर्कोटस्थित सुनकोशी नदी जलमापन केन्द्रमा समेत जलसतहले सतर्कता तह पार गरेको महाशाखाले जनाएको छ । पछिल्लो बाढीको अवस्थालाई मध्यनजर गर्दै प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा खटिएका टोलीलाई समेत उच्च सतर्कताका साथ काम गर्न भनिएको छ ।