काठमाडौं–मुग्लिन सडकखण्ड पुनः पूर्णरूपमा सञ्चालनमा
Prime TV News २ हप्ता अगाडि काठमाडौ । आइतबार बिहान केहीबेर अवरुद्ध भएको काठमाडौं–मुग्लिन–नारायणगढ सडकखण्ड पुनः पूर्णरूपमा सञ्चालनमा आएको छ ।
रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव बढेको सूचना आएपछि प्रहरीले नारायणगढबाट मुग्लिन हुँदै काठमाडौं र पोखरातर्फ जाने तथा ती स्थानबाट नारायणगढतर्फ आउने सबै प्रकारका सवारीसाधनलाई केही समय रोकेको थियो ।
भोटेकोशीमा बढेको बाढीको बहाव जोखिमपूर्ण नरहेको जानकारी बाढी पूर्वानुमान महाशाखाले दिएपछि सडकमा सवारीसाधन सञ्चालन गर्न अनुमति दिइएको चितवन प्रहरीले जनाएको छ ।
बाढीको जोखिमलाई ध्यानमा राख्दै प्रहरीले केही समय यातायात रोकेर अवस्था निगरानी गरेको थियो । बहाव सामान्य रहेको जानकारी पाएपछि यातायात सञ्चालनमा ल्याइएको हो ।







