खुर्कोटमा सुनकोशी नदीको जलसतह सतर्कता तहभन्दा माथि

User Image Prime TV News २ हप्ता अगाडि
Image of खुर्कोटमा सुनकोशी नदीको जलसतह सतर्कता तहभन्दा माथि

सिन्धुली । सिन्धुलीको खुर्कोटस्थित सुनकोशी नदीमा पानीको बहाव बढेर सतर्कता तह पार गरेको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान ७ः०२ बजे गरिएको मापनमा नदीको जलसतह सतर्कता तहभन्दा माथि पुगेको हो ।

अविरल वर्षाका कारण नदीको बहाव अझै बढ्न सक्ने सम्भावना रहेकाले महाशाखाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार बिहान ६ः५० बजे खुर्कोट जलमापन केन्द्रमा सुनकोशी नदीको जलसतह ७.६९ मिटर पुगेको थियो । उक्त केन्द्रमा ७.५ मिटरलाई सतर्कता तह र ८.६ मिटरलाई खतराको तह मानिन्छ ।

जलसतह सतर्कता तह पार गरेसँगै सिन्धुली र रामेछापका नदी तटीय तथा होचा क्षेत्रमा डुबान र कटानको जोखिम बढेको छ । महाशाखाले नदीको बहाव अझै बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन तथा सम्भावित जोखिमबाट जोगिन आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ ।