कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौं सडक पूर्ण अवरुद्ध
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
लगातारको वर्षा र बाढीका कारण सडकको ठूलो हिस्सा भत्किएपछि सवारी आवागमन ठप्प भएको हो । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख डिल्लीनारायण पाण्डेका अनुसार कृष्णभीरमा सडकको जग नै खस्किएर भासिएकाले अहिले दुवैतर्फबाट सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था छैन ।
सडक पूर्ण रूपमा अवरुद्ध भएपछि काठमाडौंबाट बाहिरिने तथा मुग्लिङ हुँदै काठमाडौं भित्रिने सयौँ सवारीसाधन र हजारौँ यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।
सडकको अवस्था गम्भीर रहेकाले तत्काल मर्मत गरेर यातायात सञ्चालनमा ल्याउन केही समय लाग्न सक्ने पाण्डेले बताएका छन् । यसैबीच, आइतबार बिहानैदेखि त्रिशूली र नारायणी नदीमा जलसतह बढेको छ ।
विभिन्न स्थानमा पहिरो जाने क्रमसमेत जारी रहेकाले पृथ्वी राजमार्गमा यात्रा थप जोखिमपूर्ण बनेको प्रहरीले जनाएको छ । यात्रु तथा चालकलाई सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न र जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ ।







