चीनबाट नेपालमा विपद् उद्धार तथा राहत सामग्रीको पहिलो खेप आइपुग्यो

User Image Prime TV News २ हप्ता अगाडि
Image of चीनबाट नेपालमा विपद् उद्धार तथा राहत सामग्रीको पहिलो खेप आइपुग्यो

काठमाडौ । चीनले नेपाललाई पठाएको विपद् उद्धार तथा राहत सामग्रीको पहिलो खेप आइतबार काठमाडौं आइपुगेको छ।

चिनियाँ सैन्य विमानले तालिमप्राप्त उद्धारकर्मीसहितको राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएको हो। चीनले पठाएको सामग्रीमा तत्काल आवश्यक पर्ने टेन्ट, कम्बल, सुत्ने झोला, प्याकेटबन्दी खाना तथा प्राथमिक उपचारका सामग्री रहेका छन्।

राहत सामग्रीसँगै चार जना चिनियाँ सुरुङ उद्धारकर्मी पनि नेपाल आएका छन्। उनीहरूले नेपालमा जारी खोज तथा उद्धार अभियानमा सहयोग गर्नेछन्। चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले नेपालमा आएको विपद्बाट ६७५ जनाको मृत्यु र २,४९८ जना बेपत्ता भएको उल्लेख गरेको छ।

यस विपद्पछि चीनले नेपाललाई उद्धार तथा राहत कार्यमा निरन्तर सहयोग गर्दै आएको छ। नयाँ सामग्री र उद्धारकर्मीको आगमनले प्रभावित क्षेत्रमा तत्काल राहत वितरण तथा खोज–उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।