त्रिशूली नदीको बाढीले धादिङमा चार घर बगायो

User Image Prime TV News २ हप्ता अगाडि
Image of त्रिशूली नदीको बाढीले धादिङमा चार घर बगायो

काठमाडौ । धादिङको गल्छी गाउँपालिका–४, चिरौदीमा त्रिशूली नदीमा आएको बाढीले चारवटा घर बगाएको छ।

आइतबार बिहान भोटेकोसीमा आएको बाढीका कारण त्रिशूली नदीको बहाव बढेपछि नदीले कटान गर्दा ती घर बगेका हुन्। धादिङका प्रहरी प्रमुख एसपी सुमित खड्काका अनुसार थप ५ देखि ६ वटा घरसमेत जोखिममा परेका छन्।

नदीको तीव्र बहाव र कटानका कारण चिरौदी क्षेत्रमा थप क्षति हुन सक्ने भन्दै प्रहरीले जोखिममा रहेका घर तथा बस्तीको निगरानी र विवरण संकलन गरिरहेको जनाएको छ। बगेका घरका धनी तथा क्षतिको विस्तृत विवरण भने अहिलेसम्म संकलन भइसकेको छैन।

यसअघि गत बुधबार भोटेकोसीमा आएको बाढीपछि त्रिशूली नदी आसपासका बस्ती उच्च जोखिममा परेका थिए। आइतबार नदीको बहाव थप बढेपछि जोखिममा रहेका केही घरमा क्षति पुगेको प्रहरीले जनाएको छ।