माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार प्रयास जारी, पुनः बाढी आएपछि चुनौती थपियो
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका मानिसहरूको उद्धारका लागि सरकारले रातभर सञ्चालन गरेको प्रयासलाई आइतबार पनि निरन्तरता दिएको छ। तर, आयोजना क्षेत्रमा पुनः बाढी आएपछि खोज तथा उद्धार कार्य थप चुनौतीपूर्ण बनेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका अनुसार पुनः आएको बाढीका कारण त्रिशूली नदीको जलसतह ५ देखि १० मिटरसम्म बढेको छ। नदीको सतह बढेसँगै आयोजना क्षेत्रको किनारमा तीव्र कटान भइरहेको छ। बाढी र पहिरोका कारण आयोजनास्थलमा ठूलो मात्रामा माटो तथा लेदो थुप्रिएको छ।
क्षतिको अवस्था निरीक्षण गर्दै सरकारले लेदो तथा माटो हटाउन डोजर र अन्य भारी उपकरण परिचालन गर्ने तयारी गरेको छ। यसैबीच, पहिरो र माटोले पुरिएको टनेल पोर्टल तथा पावर हाउस क्षेत्रमा रहेका १९ वटा सीसीटीभी क्यामेरा, एचडीआर, सेटअप बक्सलगायत महत्वपूर्ण उपकरण सुरक्षित रूपमा निकाल्ने तयारी भइरहेको छ।
सडक पहुँच अवरुद्ध भएकाले उपकरण निकाल्न हेलिकोप्टरमार्फत विशेष टोली आयोजनास्थलमा पठाउने तयारी गरिएको छ। टोलीले पुरिएका संरचनानजिक पुगेर आवश्यक उपकरण सुरक्षित रूपमा बाहिर निकाल्नेछ। प्रतिकूल मौसम, पहिरो र निरन्तर बढिरहेको नदीको बहावका कारण उद्धार कार्य जोखिमपूर्ण बने पनि सरकारले पूर्ण सतर्कताका साथ खोज, उद्धार तथा क्षति व्यवस्थापनलाई निरन्तरता दिएको जनाएको छ।







