विपद्को बेला सरकारलाई सहयोग गर्ने गगन थापाको प्रतिबद्धता

User Image Prime TV News २ हप्ता अगाडि
Image of विपद्को बेला सरकारलाई सहयोग गर्ने गगन थापाको प्रतिबद्धता

काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्तिको समयमा सरकारलाई पार्टीका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित विपद् व्यवस्थापनसम्बन्धी बैठकलाई सम्बोधन गर्दै उनले उद्धार, राहत र पुनर्स्थापनामा सरकारलाई सहयोग गर्नु पार्टीको कर्तव्य भएको बताए। थापाले विपद्का बेला सरकारको आलोचना गर्नुभन्दा सहयोग गर्नु प्राथमिकता भए पनि उद्धार तथा राहतमा देखिएका कमजोरी औँल्याउनु पनि सहयोगकै एउटा रूप भएको स्पष्ट पारे।

कहाँ काममा कमी छ र कहाँ तत्काल हस्तक्षेप आवश्यक छ भन्ने विषयमा पार्टीले खबरदारी गरिरहने उनको भनाइ छ। उनका अनुसार रास्वपा सभापति रवि लामिछानेले आयोजना गरेको सर्वदलीय बैठकमा सबै राजनीतिक दलको सहभागितामा साझा संयन्त्र बनाउने समझदारी भएको छ।

उक्त संयन्त्रलाई तत्काल पूर्णता दिएर काममा लैजान लामिछानेसँग थप छलफल गर्ने उनले बताए।

कांग्रेसले आफ्ना नेता तथा कार्यकर्तालाई विपद् प्रभावित क्षेत्रमा परिचालन गरेको जनाएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, प्रमुख सचेतकलगायतको टोलीले नुवाकोटका प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरिसकेको छ।

टोलीले त्यहाँका समस्या समेटेर प्रधानमन्त्रीलाई नौबुँदे ध्यानाकर्षणपत्र बुझाएको थापाले जानकारी दिए। त्यस्तै, कांग्रेस केन्द्रीय सदस्य मोहन आचार्यको संयोजकत्वमा ‘विपद् समन्वय समिति’ गठन गरिएको छ। समितिले प्रभावित क्षेत्रमा राहत तथा उद्धारका काममा समन्वय गरिरहेको छ।

यस्तै थापाले कांग्रेसका केन्द्रीय सदस्य, सांसद, निर्वाचित जनप्रतिनिधि तथा पार्टीका विभिन्न तहका कमिटीलाई प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न आह्वान गरेका छन्। पार्टीका सदस्यले आन्तरिक कोषमार्फत रकम जम्मा गर्ने र अन्य सहयोगीले सिधै प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्ने व्यवस्था गरिने उनले बताए।

यसबाट राहत संकलनमा दोहोरोपन नहुने उनको भनाइ छ। थापाले सुरुङमा फसेकाहरूको उद्धारका लागि आवश्यक परे बाह्य मुलुकबाट विशेषज्ञ तथा उद्धार टोली ल्याउन सरकारलाई आग्रह गरेको जानकारी दिए। नेपालमा उपलब्ध प्राविधिक विज्ञताले मात्र उद्धार सम्भव नहुन सक्ने जानकारी पाएपछि आफूले परराष्ट्रमन्त्रीसँग सम्पर्क गरी विदेशी सहयोग लिन आग्रह गरेको उनले बताए।

प्रभावित क्षेत्रबाट प्राप्त सूचना सरकारका सम्बन्धित निकायसम्म पुर्‍याउने र आवश्यक परे सरकारमाथि दबाब सिर्जना गर्ने काम पार्टीले जारी राख्ने उनले बताए।