नेपाल–चीन सीमामा बनेको कृत्रिम तालको पानी पूर्ण रूपमा निकास

User Image Prime TV News २ हप्ता अगाडि
Image of नेपाल–चीन सीमामा बनेको कृत्रिम तालको पानी पूर्ण रूपमा निकास

काठमाडौ । नेपाल–चीन सीमाना नजिक हिमपहिरोका कारण बनेको कृत्रिम तालको पानी पूर्ण रूपमा निकास भएको चीनको जलस्रोत मन्त्रालय र चिनियाँ केन्द्रीय टेलिभिजन (सीसीटीभी)लाई उद्धृत गर्दै चाइना डेलीले जनाएको छ।

नेपालतर्फको छोछेन खोला र चीनतर्फको पुरेपु साङ्पो नदीको संगमस्थल नजिक हिमपहिरो तथा माटो थुप्रिएर बनेको उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको थियो। चीनको जलस्रोत मन्त्रालय अन्तर्गतको जल वैज्ञानिक आपत्कालीन अनुगमन टोलीका अनुसार पानी प्राकृतिक रूपमा बग्दै गएपछि कृत्रिम तालमा रहेको सम्पूर्ण जलभण्डार खाली भएको छ र अवस्था सामान्यतर्फ फर्किएको छ।

यसैबीच, तिब्बतको आपत्कालीन व्यवस्थापन विभागका अनुसार शनिबार साँझ ६ बजेसम्म केरुङ नाका क्षेत्रमा १६ जनाको मृत्यु पुष्टि भएको छ। त्यहाँ अझै ५४६ जना बेपत्ता रहेका छन्। बेपत्ता हुनेमध्ये २६१ जना २३ देशका विदेशी नागरिक रहेको बताइएको छ।

कृत्रिम तालको पानी पूर्ण रूपमा निकास भएसँगै तत्काल थप ठूलो बाढीको जोखिम घटेको भए पनि सीमावर्ती क्षेत्रमा खोज तथा उद्धार र क्षतिको मूल्यांकनको काम भने चुनौतीपूर्ण रहेको छ।