शोकको बेला राजनीति गर्नुहुँदैनः केपी ओली
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति अकल्पनीय भएको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित अन्तरक्रियामा बोल्दै उनले राष्ट्रिय शोकको अवस्थामा राजनीतिक प्रतिस्पर्धाभन्दा उद्धार, राहत र पुनर्स्थापनामा सबै एकजुट हुनुपर्ने बताए। ओलीले शोक र पीडाको समयमा कसैले पनि राजनीति गर्न नहुने भन्दै सबैले उदारतापूर्वक सहयोगको हात अघि बढाउनुपर्ने धारणा राखे।
उनका अनुसार विपद्का बेला नागरिकको उद्धार, राहत र पुनर्स्थापना सरकारको पहिलो प्राथमिकता हुनुपर्छ। उनले संघ, प्रदेश र स्थानीय सरकारसँगै विभिन्न संघसंस्था तथा परोपकारी व्यक्तिहरूबीच समन्वय गरेर विपद्को सामना गर्नुपर्ने बताए।
तर, ओलीले वर्तमान सरकारले राज्यको सामर्थ्यलाई केन्द्रमा सीमित गरेर प्रदेश र स्थानीय सरकारसँग प्रभावकारी समन्वय नगरेको आरोप लगाए। उनले सरकारलाई अगम्य, अप्राप्य र अदृश्यजस्तो भएको टिप्पणी गर्दै स्थानीय तथा प्रदेश सरकारसँग मिलेर काम गर्नुपर्ने बताए।
ओलीले विपद्का बेला श्रेय लिने होड नगर्ने प्रतिबद्धता दलहरूले गरिसकेको भए पनि कतिपय निजी संघसंस्थालाई खोज तथा उद्धारमा सहभागी हुनसमेत रोकिएको दाबी गरे। यसै क्रममा उनले बागमती प्रदेश सरकारले आफ्नै पहलमा उद्धार, राहत तथा पुनर्निर्माणका काम अघि बढाएकोमा धन्यवाद दिएका छन्।







