तिहार नजिकिँदै बजारमा अनियमितता, विभागले कडा निगरानी घोषणा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । तिहार नजिकिँदै गर्दा बजारमा मूल्यवृद्धि र अनियमितता बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कडा निगरानी सुरू गरेको छ।
विभागले सबै व्यापारीलाई बिक्रीमा राखिएका वस्तुहरूमा अधिकतम खुद्रा मूल्य (एमआरपी) स्पष्ट रूपमा उल्लेख गर्न र मूल्यसूची टाँस्न निर्देशन दिएको छ।
बजार अनुगमनका क्रममा भाइ मसला, तामा–चाँदीका भाँडा, झिलिमिली बत्ती, र अन्य पर्वमा प्रयोग हुने सामग्रीमा मूल्यसूची र एमआरपी उल्लेख नगरी मनपरी बिक्री भइरहेको पाइएको विभागले जनाएको छ।
विभागका अनुसार यस्ता अनियमितता उपभोक्ता अधिकार उल्लङ्घनका गम्भीर उदाहरण हुन् र दोषी व्यापारीमाथि कानुनी कारवाही गरिनेछ।
विभागले बजारमा माग र आपूर्तिको सन्तुलन कायम राख्दै मूल्य स्थिरता सुनिश्चित गर्न व्यापारिक संघ–संगठन, व्यवसायी र उपभोक्तावादी संस्थालाई सहकार्य गर्न आह्वान गरेको छ।
साथै, उपभोक्तालाई लेबलसहितको वस्तु मात्र खरिद गर्न र कुनै समस्या परे विभागको टोल–फ्रि नम्बर ११३७ मा सम्पर्क गर्न आग्रह गरिएको छ।













