भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालको शवगृह भरिन लाग्यो

User Image Prime TV News २ हप्ता अगाडि
Image of भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालको शवगृह भरिन लाग्यो

काठमाडौ । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि ज्यान गुमाएकाहरूको शव धमाधम फेला पर्न थालेसँगै काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको शवगृह भरिन लागेको छ।

त्रिवि शिक्षण अस्पतालका फोरेन्सिक विज्ञ डा. गोपाल चौधरीका अनुसार रसुवा बाढीबाट ल्याइएका ६० वटा शव अस्पतालमा राखिएका छन्। तीमध्ये ८ वटा शवको पहिचान भइसकेको छ भने २८ वटाको पोस्टमार्टम भइरहेको छ।

अस्पतालको शवगृहको कुल क्षमता १५० शव रहेको छ। यसअघि नै ८० वटा शव राखिएका कारण अहिले थप करिब ७० शव राख्न सकिने अवस्था रहेको डा. चौधरीले बताए। उनका अनुसार थप १० वटा शव आएपछि तत्काल उपलब्ध क्षमता लगभग भरिनेछ।

शवको संख्या थप बढ्न सक्ने भएकाले डा. चौधरीले अस्थायी शव भण्डारणका लागि छुट्टै स्थान पहिचान गरी सरकारी तहबाट तत्काल प्रक्रिया अघि बढाउनुपर्ने सुझाव दिएका छन्। बाढीमा ज्यान गुमाएकाहरूका अधिकांश शव कुहिएको तथा क्षतविक्षत अवस्थामा फेला परेको उनले बताए। यस्तो अवस्थामा शवलाई फ्रिज गरेर राख्दा पनि पहिचान गर्न कठिन हुने उनको भनाइ छ।

उनका अनुसार अत्यधिक कुहिएका शवलाई लामो समयसम्म भण्डारण गर्नुभन्दा स्वास्थ्य तथा फोरेन्सिक मापदण्डअनुसार उचित व्यवस्थापन गर्नु आवश्यक देखिएको छ। बाढी प्रभावित क्षेत्रमा थप शव फेला पर्ने क्रम जारी रहेकाले शवको पहिचान, पोस्टमार्टम र व्यवस्थापनका लागि अतिरिक्त संरचना र जनशक्तिको आवश्यकता बढ्दै गएको छ।