भोटेकोसी बाढी प्रभावित १५ स्थानीय तहमा ६ करोड ७५ लाख राहत
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । भोटेकोसी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका १५ स्थानीय तहमा संघीय सरकारले ६ करोड ७५ लाख रुपैयाँ नगद राहत पठाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबारसम्म तीन जिल्लाका प्रभावित स्थानीय तहमा उक्त रकम पठाइएको हो। राहतस्वरूप रसुवा र नुवाकोटमा एक–एक करोड रुपैयाँ तथा धादिङमा ५० लाख रुपैयाँका दरले रकम उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ।
बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न सार्वजनिक अपिलसमेत गरेको थियो। पछिल्लो विवरणअनुसार दुवै कोषमा गरी ४ अर्ब ३८ करोड रुपैयाँ र ६ लाख ८० हजार अमेरिकी डलर जम्मा भएको जनाइएको छ।
प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउने काम पनि जारी छ। हालसम्म ३७ ट्रक र १३ बोलेरो मार्फत खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ। त्यस्तै, दुर्गम तथा सडक पहुँच कठिन भएका क्षेत्रमा हेलिकप्टरमार्फत आठ वटा उडान गरी खाद्य तथा गैरखाद्य सामग्री पुर्याइएको छ।
बाढीका कारण प्रभावित क्षेत्रमा सञ्चार सम्पर्कमा समेत समस्या देखिएपछि सञ्चार सेटसमेत पठाइएको प्राधिकरणले जनाएको छ। सरकार र सम्बन्धित निकायले बाढी प्रभावित क्षेत्रमा नगद राहतसँगै खाद्य सामग्री, गैरखाद्य सामग्री र सञ्चार उपकरण उपलब्ध गराउने कामलाई निरन्तरता दिएका छन्।







