त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार प्रयास तीव्र, ४२ जना अझै सम्पर्कविहीन
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको केबल आउटलेट टनेलबाट सुरुङभित्र प्रवेश गरी बाढीपछि सम्पर्कविहीन भएका ४२ जनाको उद्धारका लागि प्रयास तीव्र पारिएको छ।
उद्धारका लागि नेपाल विद्युत् प्राधिकरणका विज्ञ प्राविधिकसहित नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मी तथा उद्धारकर्मी घटनास्थलमा खटिएका छन्। सुरुङभित्र प्रवेशमा अवरोध बनेको संरचना हटाउने काम भइरहेको छ।
ऊर्जा मन्त्रालयका अनुसार उद्धार टोलीले सुरुङको क्राउन अर्थात् माथिल्लो भाग पहिचान गरेको छ। एक्साभेटर प्रयोग गरी क्राउनको अवरोध फुटाएर सुरुङभित्र सुरक्षित प्रवेशको बाटो तयार पार्ने काम अघि बढाइएको छ। अवरोध हटेपछि अक्सिजनसहित उद्धारकर्मीलाई सुरुङभित्र पठाउने तयारी गरिएको छ।
भदौ १२ गतेदेखि विशेषज्ञसहितको संयुक्त टोली घटनास्थलमा अस्थायी रूपमा खटिएर उद्धार कार्यमा जुटेको छ। टोलीले ड्रिलिङ मेसिन, एक्साभेटर, हाइड्रोलिक कटरलगायत उपकरण प्रयोग गर्दै क्राउन हेड फेला पारेको हो।
नेपाली सेनाका अनुसार बनाइएको प्वालबाट सुरुङभित्र अवलोकन गर्दा करिब ७ मिटरको क्षेत्रमा निकै माथिसम्म पानीको सतह देखिएको छ। सुरुङभित्रको वास्तविक अवस्था पत्ता लगाउन क्यामरासमेत पठाउने तयारी गरिएको छ।
सुरुङभित्र फसेका व्यक्तिहरूलाई छिटो उद्धार गर्न नेपाली सेनाका इन्जिनियरहरूले आवश्यक परे ब्लास्टिङ गर्नेसम्मका विकल्पमा काम अघि बढाएका छन्। ठूला उपकरण प्रयोग, अवरोध हटाउने, प्वाल फराकिलो बनाउने र ब्लास्टिङको तयारी एकसाथ अघि बढाइएको छ।
पछिल्लो विवरणअनुसार उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीका १८ जना सशस्त्र प्रहरी र नेपाल प्रहरीका ६ जना गरी ९० जनाको संयुक्त टोली परिचालित छ।
यसअघि उद्धार टोलीले दिउँसो २ बजे सुरुङको मुख्य भाग अर्थात् क्राउन हेडमा पुगेर करिब २ फिट × ३ फिटको प्वाल बनाएको थियो। डोरीको सहायताले उद्धारकर्मी तल झरेर सुरुङभित्र बोलाउँदा भने कुनै प्रतिक्रिया प्राप्त नभएको बताइएको छ।
ऊर्जा मन्त्रालयका अनुसार उद्धार टोली टनेल पोर्टसम्म पुगिसकेको छ। अहिले पोर्टको मुख सफा गर्ने काम भइरहेको छ। पोर्ट सफा भएपछि अक्सिजनसहित उद्धारकर्मीलाई सुरुङभित्र पठाउने तयारी भइरहेको छ।
उद्धारकर्मीले सुरुङभित्रको अवस्था प्रत्यक्ष निरीक्षण गर्दै सुरक्षित रूपमा अगाडि बढ्नेछन्। उनीहरूसँग क्यामरा पनि पठाइनेछ, जसबाट सुरुङभित्रको अवस्थाबारे बाहिरबाट समेत जानकारी लिन सकिनेछ।
पोर्टबाट करिब १८० मिटर अगाडि पुगेपछि सम्भावित वर्किङ स्पेससम्म पुग्न सकिने अनुमान गरिएको छ। उक्त स्थानमा पुगेपछि सुरुङभित्र फसेका व्यक्तिहरूको वास्तविक अवस्था, उनीहरू रहेको स्थान र सुरक्षाको अवस्थाबारे थप स्पष्ट जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ।
कठिन र जोखिमपूर्ण परिस्थितिका बाबजुद उद्धार टोलीले अहोरात्र काम गरिरहेको छ। बाढीपछि आयोजनाको सुरुङभित्र रहेका ४२ जना सम्पर्कविहीन भएकाले उनीहरूको अवस्थाबारे यकिन जानकारी प्राप्त गर्न उद्धार टोलीले सबै सम्भावित उपाय प्रयोग गरिरहेको छ।







