सुरुङमा फसेकाको उद्धारमा चिनियाँ र भारतीय विशेषज्ञ बोलाइयो : परराष्ट्रमन्त्री खनाल
Prime TV News २ हप्ता अगाडि 
नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवामा बाढीपछि सुरुङभित्र फसेका व्यक्तिको उद्धारका लागि विदेशी विशेषज्ञको सहयोग लिन थालिएको बताएका छन्।
स्वदेशी जनशक्तिबाट मात्रै उद्धार सम्भव नभएपछि चिनियाँ र भारतीय विशेषज्ञलाई बोलाइएको मन्त्री खनालले जानकारी दिए। आइतबार बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न पुगेका उनले उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यकताअनुसार अन्य मुलुकबाट समेत सहयोग लिन सकिने बताए।
‘आवश्यक परेमा अन्य मुलुकबाट पनि सहयोग लिन सकिन्छ,’ मन्त्री खनालले भने।्
उनका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि विभिन्न मित्र राष्ट्रबाट सहयोगको प्रतिबद्धता प्राप्त भइरहेको छ। प्राप्त सहयोगलाई आवश्यकता र प्राथमिकताका आधारमा परिचालन गरिने उनले बताए।
‘हामीलाई विश्वसमुदायबाट सहयोगको प्रतिबद्धता आइरहेका छन्। आवश्यकताअनुसार सहयोग लिन्छौँ,’ मन्त्री खनालले भने।
रसुवामा बाढीपछि सुरुङभित्र मानिसहरू फसेको आशंकापछि नेपाली सुरक्षा निकाय, प्राविधिक तथा उद्धार टोलीले निरन्तर खोज तथा उद्धार प्रयास गरिरहेका छन्। कठिन भौगोलिक अवस्था र सुरुङभित्रको जोखिमपूर्ण परिस्थितिका कारण उद्धारमा चुनौती देखिएको छ। रासस







