मुख्यमन्त्री थापा र रवि लामिछानेबीच भेटवार्ता, विपदमा तीन तहका सरकारबीच समन्वयको अभावबारे छलफल

User Image Prime TV News २ हप्ता अगाडि
Image of मुख्यमन्त्री थापा र रवि लामिछानेबीच भेटवार्ता, विपदमा तीन तहका सरकारबीच समन्वयको अभावबारे छलफल

काठमाडौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच विपद् व्यवस्थापन तथा राहत वितरणबारे छलफल भएको छ।

च:मतीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा आइतबार भएको भेटवार्तामा मुख्यमन्त्री थापा मगरले विपद्का बेला तीन तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसकेको गुनासो गरेका थिए। उनले संघ, प्रदेश र स्थानीय सरकारबीच जिम्मेवारी स्पष्ट हुन नसक्दा प्रभावित क्षेत्रमा राहत तथा उद्धारका काम प्रभावकारी बनाउन कठिनाइ भइरहेको बताए।

‘जसका कारण प्रदेश सरकारले आफ्नै तरिकाले काम गरिरहेका छौँ,’ उनले भने।

मुख्यमन्त्री थापाका अनुसार प्रधानमन्त्री प्रभावित क्षेत्रको निरीक्षणमा पुग्दासमेत प्रदेश सरकारलाई त्यसबारे जानकारी नदिइएको अवस्था छ। उनले विपद्का बेला संघ, प्रदेश र स्थानीय तहले कुन–कुन काम गर्ने भन्ने स्पष्ट रूपमा छुट्याउन आवश्यक रहेको बताए।

राहत सामग्री प्रभावित क्षेत्रसम्म पुर्‍याउनसमेत समस्या भइरहेको उनले जानकारी दिए। प्रदेश सरकारले पठाएको राहत बट्टार क्षेत्रमा जम्मा भएको र त्यसभन्दा माथिल्लो क्षेत्रमा सामग्री पुर्‍याउन कठिनाइ भइरहेको उनको भनाइ थियो।

मुख्यमन्त्री थापाले खोला तथा नदी किनारमा रहेका जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न पनि तीनै तहका सरकारले तत्काल समन्वय गरेर काम गर्नुपर्नेमा जोड दिए। ‘प्रदेशले संघ र स्थानीय सरकारलाई जोड्नुपर्छ’ । 

रास्वपा सभापति रवि लामिछानेले विपद्को समयमा स्थानीय र संघीय सरकारबीच समन्वय कायम गराउने भूमिका प्रदेश सरकारले प्रभावकारी रूपमा खेल्नुपर्ने बताए। उनले अहिलेको अवस्थामा सबै तहका सरकारले आपसी समन्वयमा काम गर्नुपर्नेमा आफूहरू सचेत रहेको उल्लेख गरे।

‘यतिबेला सबै सरकारले समन्वय गरेर काम गर्नुपर्छ भन्ने कुरामा हामी सचेत छौँ। संघीय सरकारका तर्फबाट आवश्यक सम्पूर्ण सहयोगका लागि समन्वय गर्ने प्रतिबद्धता जनाउँछौँ,’ लामिछानेले भने। भेटवार्तामा बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा राहत, उद्धार, पुनःस्थापना र जोखिमयुक्त बस्ती व्यवस्थापनका लागि सरकारका विभिन्न तहबीच समन्वय बढाउने विषयमा छलफल भएको थियो।