चितवनमा भेटिएका २७२ शव मध्ये १६२ को जमिनमुनि व्यवस्थापन गरिँदै

User Image Prime TV News २ हप्ता अगाडि
Image of चितवनमा भेटिएका २७२ शव मध्ये १६२ को जमिनमुनि व्यवस्थापन गरिँदै

चितवन । चितवनमा हालसम्म भेटिएका २ सय ७२ शवमध्ये १ सय ६२ शवलाई आज जमिनमुनि व्यवस्थापन गरिने भएको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पत्रकार सम्मेलनमार्फत १० शव आफन्तलाई बुझाइसकिएको जानकारी दिँदै बाँकी शवमध्ये १ सय ६२ शव आजै देवघाटस्थित जङ्गलमा व्यवस्थापन गरिने बताए।

उनका अनुसार सबै शवबाट डीएनए परीक्षणका लागि नमुना संकलन गरिनेछ। यसअघि नै दुई सयभन्दा बढी शवको डीएनए नमुना संकलन भइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइयो। भदौ ११ गतेदेखि औद्योगिक प्रतिष्ठानमा सञ्चालन गरिएको अस्थायी शव व्यवस्थापन केन्द्र पनि आजदेखि खाली गरिने भएको छ।

त्यस्तै, आफन्तले शव पहिचान गर्न सकून् भनेर चितवन उद्योग संघमा राखिएको शवको डिस्प्ले पनि आजदेखि बन्द गरिनेछ। ‘आज सबै शव माटोमुनि व्यवस्थापन गरेर अस्थायी शव होल्डिङ सेन्टर आजैदेखि खाली गर्ने तयारी गरेका छौँ,’ प्रजिअ अर्यालले भने, ‘शवको पहिचान डिस्प्ले पनि अब प्रहरीको वेबसाइटबाट मात्रै हुने गरी यता रोकिदिने तयारी गरेका छौँ।’

भरतपुर महानगरपालिका–१ अन्तर्गत देवघाटको जङ्गलमा जमिनमुनि व्यवस्थापन गरिने सबै शवको डीएनए नमुना संकलन गरिएको प्रशासनले जनाएको छ। शवको पहिचान सुरक्षित राख्न डीएनए नमुना, शव र शव गाडिएको स्थान गरी तीनवटै तहमा पहिचान खुल्ने नम्बर राखिने व्यवस्था गरिएको छ।

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार शवमा तारले बाँधेर फलामको नम्बर प्लेट राखिनेछ। त्यस्तै, शव गाडिएको स्थानमाथि पनि सोही नम्बर उल्लेख भएको फलामको प्लेटसहित ढलान गरिएको गमला राखिनेछ। प्रजिअ अर्यालका अनुसार यसरी डीएनएको नमुना, शव र शव गाडिएको स्थानमा समान नम्बर राखिएपछि भविष्यमा पहिचान गर्न सहज हुनेछ।

प्रशासनले शवको तस्बिर हेरेर आफन्तले पहिचान गर्न सक्ने व्यवस्था भने जारी राख्ने जनाएको छ। आफन्तलाई तस्बिर आफ्नो परिवारका सदस्यसँग मिलेजस्तो लागेमा अन्य उपलब्ध तस्बिरसमेत हेरेर पहिचान गर्न सकिनेछ।

शव आफ्नो आफन्तको भएको यकिन भएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शव बुझ्न सकिने प्रजिअ अर्यालले जानकारी दिए। शवको पहिचानका लागि अब प्रहरीको वेबसाइटमार्फत तस्बिर उपलब्ध गराउने व्यवस्था गरिने प्रशासनले जनाएको छ।