चितवनमा सनाखत हुन नसकेका १९९ शवको व्यवस्थापन
Prime TV News २ हप्ता अगाडि 
चितवन । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी नदीमा बगेर चितवनमा भेटिएका सनाखत हुन नसकेका १९९ शवको व्यवस्थापन गरिएको छ ।
भरतपुर महानगरपालिका–१ स्थित देवघाटको जङ्गलमा आइतबार रातिसम्म ती शवको व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार चितवनमा हालसम्म २७२ शव फेला परेका छन् । तीमध्ये १२ जनाको सनाखत भइसकेको छ भने १९९ शवको व्यवस्थापन गरिएको छ ।
शवको डिएनए नमुना सुरक्षित राखेर व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ । भविष्यमा बेपत्ता व्यक्तिका परिवारसँग डिएनए परीक्षण गर्दा नमुना मिलेमा शव रहेको स्थान पहिचान गरी परिवारलाई बुझाउन सकिने गरी आवश्यक सङ्केत चिह्नसमेत राखिएको छ ।
सनाखत भएका शवको भने पोस्टमार्टमपछि परिवारले बुझेर लगेका छन् । फेला परेका २७२ शवमध्ये ११० पुरुष, ६२ महिला, सात बालक, छ बालिका र ८७ वटा मानव अवशेष रहेको प्रहरीले जनाएको छ ।
नदी किनारमा शव फेला पर्ने क्रम अझै जारी रहेकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खोजी तथा शव व्यवस्थापनमा परिचालन गरिएको छ ।







