आज देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रहनेछ ।
देशका पहाडी भूभागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
देशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मधेश र कोशी प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ । कोशी प्रदेशका हिमाली, पहाडी तथा तराई भूभागका थोरै स्थानमा तथा बागमती प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।
गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । मौसम विज्ञानका अनुसार २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुनुलाई भारी, १०० देखि २०० मिलिमिटरसम्मलाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षालाई अति भारी वर्षा मानिन्छ ।







