जेनजी आन्दोलनमा जलेको यातायात व्यवस्था विभाग पुनःस्थापनाको तयारीमा
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । यातायात ब्यवस्था विभागले नयाँ लाइसेन्स प्रिन्टिङ मेसिन खरिदका लागि टेन्डर तयारी पूरा गर्दै यही साताभित्र आह्वान गर्ने तयारी गरेको छ।
मन्त्रालयका अनुसार फास्ट ट्र्याक प्रक्रियाबाट खरिद गरिने मेसिनको लागत करिब पाँचदेखि छ करोड रुपैयाँसम्म हुने अनुमान गरिएको छ।
मन्त्री कुलमान घिसिङले सेवाग्राहीलाई सकेसम्म छिटो सेवा दिन निर्देशन दिएका छन्। विभागले फारम खोल्ने, मर्मत कार्य गर्ने र अन्य आवश्यक तयारीहरूलाई तीव्र गतिमा अघि बढाएको छ।
तर सर्भर मर्मत र आवश्यक उपकरण खरिद पूरा नहुँदासम्म सेवा पुनःस्थापना हुन अझै कम्तीमा एक महिना लाग्ने देखिएको छ।
आगजनीबाट सर्भरमा क्षति पुगे पनि लाइसेन्ससम्बन्धी डेटा सुरक्षित रहेको विभागले जनाएको छ। साथै करिब पाँच लाख खाली स्मार्ट कार्ड सुरक्षित छन् र तिनीहरू प्रिन्ट गर्न योग्य रहेको अनुमान गरिएको छ।
तर आगजनीका कारण करिब २० हजारभन्दा बढी तयार लाइसेन्स र एक लाखभन्दा बढी खाली कार्ड जलेर नष्ट भएका छन्।
हाल देशभरका ४२ वटा प्रदेश सरकार मातहतका यातायात कार्यालयहरू केन्द्रीय सर्भर पुनःस्थापना नहुँदासम्म कुनै पनि लाइसेन्ससम्बन्धी सेवा प्रदान गर्न नसक्ने अवस्थामा छन्।
सबै प्रणाली केन्द्रीय सर्भरमा आधारित भएकाले प्रदेश सरकारले चाहेर पनि स्वतन्त्र रूपमा सेवा सञ्चालन गर्न नसक्ने स्थिति सिर्जना भएको छ।







