रुसले युक्रेनका ऊर्जा पूर्वाधारमा ठूलो आक्रमणको तयारी

User Image Prime TV News २ हप्ता अगाडि
Image of रुसले युक्रेनका ऊर्जा पूर्वाधारमा ठूलो आक्रमणको तयारी

काठमाडौ । रुसले युक्रेनका ऊर्जा पूर्वाधारमा ठूलो आक्रमणको तयारी थालिएको जनाएको छ। युक्रेनले आफ्ना ऊर्जा तथा नागरिक पूर्वाधारमा गरेको आक्रमणको जवाफ दिन लागिएको रुसको भनाइ छ। 

रुसको रक्षा मन्त्रालयले आइतबार टेलिग्राममार्फत युक्रेनको ऊर्जा क्षेत्रका संरचनामा ठुलो मात्रामा आक्रमणको तयारी सुरु गरिएको जनाएको हो।

गत हिउँदमा रुसले युक्रेनका विद्युत् उत्पादन तथा प्रसारण संरचनामा पटकपटक आक्रमण गर्दा देशको ऊर्जा प्रणालीमा ठुलो क्षति भएको थियो। त्यसका कारण लाखौँ मानिसले अत्यधिक चिसोका बीच विद्युत् तथा ताप आपूर्तिको समस्या झेल्नुपरेको थियो।

पछिल्ला महिनामा दुवै पक्षले लामो दुरीका ड्रोन तथा क्षेप्यास्त्रमार्फत एकअर्काका सैन्य तथा ऊर्जा पूर्वाधार, गोदाम, तेल प्रशोधन केन्द्र र बन्दरगाहलगायत संरचनालाई निसाना बनाइरहेका छन्। ती आक्रमणमा सर्वसाधारणसमेत हताहत भएका छन्।

रुसको रक्षा मन्त्रालयले आइतबार किएभस्थित एस्बेस्टोस तथा सिमेन्ट उत्पादन गर्ने एक कारखानामा आक्रमण गरेको दाबी गरेको छ। उक्त कारखानाका गोदाममा विस्फोटक पदार्थ भण्डारण गरिएको र त्यहाँ ड्रोन तथा हतियार उत्पादन हुने मन्त्रालयको दाबी छ।

यसअघि शनिबार किएभको उपनगरमा रहेको गोलाबारुद भण्डारमा रुसी आक्रमण हुँदा ठुलो विस्फोट भएको थियो। स्थानीय अधिकारीहरूका अनुसार घटनामा कम्तीमा ३७ जनाको मृत्यु भएको थियो।

यता युक्रेनी अधिकारीहरूले उत्तरपश्चिमी रुसमा रहेको एक तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोनले आक्रमण गरेको बताएका छन्। आक्रमणपछि त्यहाँ आगलागी भएको उनीहरूले जनाएका छन्।