कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्न भदौ १९ सम्म समय थप, इतर समूह अझै असहमत

User Image Prime TV News २ हप्ता अगाडि
Image of कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्न भदौ १९ सम्म समय थप, इतर समूह अझै असहमत

काठमाडौ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिक गर्न छुटेका नेता–कार्यकर्ताका लागि थप समय दिएको छ।

पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन समितिको आइतबार बसेको बैठकले भदौ १५ देखि १९ गतेसम्म सदस्यता अद्यावधिक तथा नवीकरण गर्न सकिने गरी समय थप गर्ने निर्णय गरेको हो । समितिले पार्टीको बृहत्तर हित, एकता तथा नेता–कार्यकर्ताको अनुरोधलाई ध्यानमा राख्दै सदस्यता अद्यावधिक गर्न छुटेकाहरूलाई थप अवसर दिने निर्णय गरेको जनाएको छ।

तर, पार्टीभित्रको इतर समूहले भने विवादित विषयमा ठोस सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियामा सहभागी नहुने अडान दोहोर्‍याएको छ। निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षले प्रक्रियागत सुधार र सहमतिबिना समय थप गर्नुको औचित्य नरहेको बताएको हो।

इतर समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले क्रियाशील सदस्यताको समय थपघट गर्नु मात्रै समाधान नभएको बताए। उनका अनुसार अहिलेको मुख्य आवश्यकता पार्टीभित्रको विवाद अन्त्य गर्दै एकताका लागि ठोस सहमति कायम गर्नु हो।

‘सहमति नभइकन थपेको समयको कुनै अर्थ छैन,’ विश्वकर्माले भने, ‘एकतर्फी रूपमा समय थप्ने, घटाउने वा कार्यतालिका हेरफेर गर्ने विषयले कुनै अर्थ राख्दैन।’ विश्वकर्माका अनुसार दुई पक्षबीच ठोस सहमति नभएसम्म इतर समूहका नेता–कार्यकर्ताले क्रियाशील सदस्यता अद्यावधिक गर्ने छैनन्।

कांग्रेसभित्रको विवाद गत पुसमा भएको विशेष महाधिवेशनपछि थप चर्किएको हो। तत्कालीन केन्द्रीय समितिको सहमतिबिना महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन आयोजना गरिएको र त्यसबाट थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरी निर्वाचन आयोगबाट अद्यावधिक गरिएपछि पार्टीभित्र विवाद बढ्दै गएको हो।

क्रियाशील सदस्यता व्यवस्थापन र पार्टीको आगामी सांगठनिक प्रक्रियालाई लिएर देखिएको मतभेद अहिले कांग्रेसभित्र थप गम्भीर बन्दै गएको छ।